महाविनाशकारी भूकम्पपछि भत्किएका नेपालको पुननिर्माण र पुनसंरचनाबारेको खाका अष्ट्रेलियामा तयार पारिएको छ । अष्ट्रेलियामा बस्ने विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरुले संयुक्त रुपमा छलफल गरेर त्यस्तो खाका तयार पारेका हुन् । खाकासँगै आवश्यकता परे देशमा गएर स्वयंसेवा गर्न पनि तयार रहेको बताएका छन् ।

एनआरएन अष्ट्रेलिया क्यानबेरा राज्य समितिको आयोजनामा हालै भएको एक दिने कार्यशाला गोष्ठीमा सहभागी विज्ञहरुले यस्तो धारणा राखेका हुन् । संरचनागत ईन्जिनियर, चिकित्सक, सञ्चारविज्ञ लगायतले ९ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत सबै कार्यपत्रमा नेपाललाई कसरी सघाउन सकिन्छ भन्ने विस्तृत चर्चा उनीहरुले गरेका छन् । यी कार्यपत्रको निचोड नेपाल सरकारलाई राजदूतमार्फत पठाउने र नेपालका विभिन्न कार्यान्वयन गर्ने निकायहरुलाई समेत दिने आयोजकको योजनो छ । कार्यक्रमका संयोजक एवं एनआरएन अष्ट्रेलियन क्यापिटल टेरोटेरीका संयोजक एवं आयोजक समितिका संयोजक सीताराम घिमिरेका अनुसार सबै विज्ञहरुले आफ्नो क्षेत्रमा सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रमुख अतिथि रुद्रकुमार नेपालले आर्थिक रुपमा एनआरएनले गरेको सहयोग सराहनीय रहेको बताउँदै नीतिगत तहमै सहयोग गर्ने तत्परता देखाउँनु अझ प्रशंसायोग्य भएको बताउनुभयो । यसैगरी एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले हरेक वर्ष सीप, दक्षता हस्तान्तरणका लागि गरिने कार्यशाला यस वर्ष अझ महत्वपूर्ण बनेको बताउनुभयो । उहाँले अघिल्लो वर्ष यस्तै कार्यशालाबाट कार्यक्रमको रुपमा नेपालको कृषि क्षेत्रलाई सहयोग गर्न थालिएको अभियानले सार्थकता पाएको बताउनुभयो । अध्यक्ष ओलीले यसवर्ष पनि प्रस्तुत कार्यपत्रलाई योजनाको रुप दिई अघि बढाउन एनआरएन अष्ट्रेलया दत्तचित्त भएर लाग्ने जानकारी गराउनुभयो ।

कार्यक्रममो मुटु प्रत्यारोपण गरेर विश्वमाझ चर्चा कमाउनुभएका प्रतिष्ठित सर्जन डा. कुमुद धितालले गैरआवासीय नेपाली चिकित्सकहरुले कसरी विपदपछिको मानसिक आघातलाई सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

डा. जगदिश तिमल्सिना र डा. राजु अधिकारी कि नोटका रुपमा रहनुभएको कार्यक्रममा श्याम घिमिरे,डा. किशोर शर्मा,कृष्ण हमाल,भरतराज पौडेल,डा. भीष्म बज्राचार्य र क्वीन्सल्याण्डको सडक विभागमा वरिष्ठ ईन्जिनियरका रुपमा कार्यरत राज कोइरालाले पनि आ आफ्नो क्षेत्रका कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अष्ट्रेलियाभरिका ७० भन्दा बढी विभिन्न क्षेत्रका विज्ञहरुसहभागी हुनुहुन्थ्यो ।

Comments

comments