मुलुकमा बैशाख १२ गते आएको महाविनाशकारी भुकम्पले घरमा क्षति पुर्याएपछि अस्थायी टहरा बनाउँने लहर चलेको छ । यसले गर्दा जस्तापाताको माग बढेसँगै जस्ता पाता उत्पादन गर्ने उद्योगहरुले पनि उत्पादन बढाएका छन् ।

वर्षा याम नजिकिएसँगै भुकम्पमा घर गुमाएकाहरुको लागि अस्थायी घर र टहरा बनाउन जस्तापाताको मांगमा बृद्धि भएपछि उद्योगहरुले आफ्नो उत्पादनमा वृद्धि गरेका छन् । माग बढेसँगै उद्योगहरुले उत्पादन गरेको र स्टकमा रहेका जस्तापाता विभिन्न जिल्लामा रहेको आफनो विक्री डिप्पोमा पठाउन थालेका छन् । साविक भन्दा अहिले उत्पादन निकै बढेको कम्पनीहरुले जनाएका छन् ।

वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा रहेको हुलाश स्टिल सिमरा, राजेश मेटल क्राप्टस जितपुर र भगवती स्टिल नितनपुर गरी तिन वटा जस्तापाता उद्योग रहेकोमा भगवती स्टिलले भने विगत तिन महिना देखि उत्पादन ठप्प पारेको छ ।

मुलुकमा जस्ता पाता उत्पादन गर्ने चार वटा उद्योग मध्ये तीन वटा उद्योग वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा रहेका छन् ।
चैत्र १२ गते देखि उत्पादन ठप्प पारेको भगवती स्टिलले आउदो शुक्रबार देखि उत्पादन शुरु गर्ने र जस्तापाताको मांग आएपछि आफनो स्टकमा रहेको जस्तापाता पठाउने कार्य भईरहेको उद्योगका प्रशासन व्यवस्थापक धर्मेन्द्र कर्णले बताउनुभयो ।

महाविनाशकारी भुकम्प पछि भन्सार भएर एउटा पनि जस्तापाताको गाडी नभित्रिएको वीरगञ्ज भन्सारका प्रवक्ता राजेन्द्र भण्डारीले बताउनुभयो । जस्तापातामा स्वदेशी उत्पादन नै पर्याप्त हुने उद्योगीहरुको दाबी छ ।

सरकारले १५ हजार रुपैैयाँ उपलब्ध गराउने भएपछि वर्षायाम शुरु हुनु अगावै अस्थायी टहरा बनाउन यतिबेला बजारमा बढेको जस्तापाताको माग पूरा गर्न स्वदेशी उद्योगीहरुलाई धौ धौ परेको छ ।

Comments