भूकम्पले देशका बिभिन्न गाउँठाउँमा डरलाग्दो मानवीय र भौतिक क्षति पुर्याएपछि धेरै गाउँठाउँहरु पुनःनिर्माणमा जुटेका छन् । तर मुलुकको ठूलो जनशक्ति विदेशमा रहेको अवस्थामा पुनःनिर्माणका लागि चाहिने जनशक्तिको अभाव टडकारो वन्दै गएको छ । विदेशमा रहेकाहरुलाई समेत झिकाएर पुनःनिर्माणमा जुटाउनु पर्ने अवस्थामा सरकारले भने श्रमका लागि विदेश गइरहेकाहरुलाई समेत रोक्न नसक्ने प्रष्ट पारेको छ ।

भुकम्प प्रभावित क्षेत्रमा पुर्नवास र पुर्ननिर्माणमा युवा परिचालन गर्ने भनिएता पनि सरकारले बिदेशमा रहेको युवाहरुलाई स्वदेश फर्काउने सकेको छैन । सरकारले देश भित्र रोजगारीको ग्यारेण्टी गर्न नसक्ने भएकोले देश भित्र रहेको युवालाई बिदेश जान रोक्न र बाहिर रहेकालाई स्वदेश फिर्ता गर्न नसक्ने श्रम राज्य मन्त्री टेकबहादु्र गुरुङले प्रष्ट पार्नुभएको छ । भुकम्प प्रभावित क्षेत्रका युवाहरु पनि बिदेश गएको स्वीकार गदै मन्त्री गुरुङले युवालाई बिदेश जानबाट रोक्न नसक्ने प्रष्ट पार्नु भएको हो ।

नेपालबाट अहिले पनि मलेसिया, साउदी, कतार, दुबई, कुवेत, इजरायल, कोरिया लगायतका देशहरुमा बीस लाख भन्दा बढी नेपाली कामदारहरु रहेका छन । सरकारले युवाहरुलाई स्वेदश फर्काउने घोषणा गरेता पनि उनीहरुलाई स्वदेश फर्काउन सकेको छैन । मन्त्री गुरुङले विदेशकमा रहेका युवाहरुलाई फर्काउन सजिलो नभएको पनि बताउनुभयो ।
यसैबीच श्रम राज्य मन्त्री गुरुङले बिभिन्न देशहरुबाट आएको फ्रि भिसाको सुविधामा शुल्क लिएको अवस्थामा त्यस्ता म्यानपावर कम्पनीहरुलाई कारवाही गरिने बताउनुभएको छ । नेपाली कामदारको लागि आएको फ्रि फ्रिसा र टिकटको दू्रुपयोग गर्ने म्यानपावर कम्पनीका लाइसेन्स समेत जफत हुन सक्ने उहाँले बताउनु भएको छ । अहिले पनि नेपाली कामदारलाई आएको फ्रि भिसा र फ्रि टिकटमा पनि कम्पनीहरुले पैसा असुली रहेको गुनासो बढेको छ ।

यिनै सुविधाहरु र लोभका कारण नेपाली युवा जनशक्ति वाहिरिने र विदेश पठाउन बाटो बनाउने म्यानपावर कम्पनीहरुको स्वार्थको कारण देश विपत्तिमा पनि युवाविहीन बन्ने क्रम तीब्र बन्दैछ । विज्ञापन प्रकाशित गरेर युवा कामदार खोज्ने र पठाउने प्रवृति नरोकिए पुनःनिर्माणमा मुलुकले विदेशी जनशक्तिको भर पर्नुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न ।

Comments