वैशाख १२ को महाविनाशकारी भूकम्पपछि बन्द रहेको विद्यालयहरु आजदेखि खुल्ने भएका छन् ।

सरकारको निर्देशन अनुसार आज आइतबार देखि बन्द विद्यालयहरु खुल्ने भएका हुन् । तर, भूकम्पबाट भौतिक संरचना ध्वस्त भएका धेरैजसो विद्यालयमा अझै अस्थायी कक्षाकोठाको व्यवस्था हुन नसक्दा पठनपाठन सुरु भइहाल्ने अवस्था छैन ।

सामुदायिक सरकारी विद्यालयहरूले अस्थायी कक्षाकोठा बनाएर कक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । संस्थागत (निजी) विद्यालय ध्वस्त भवनको विकल्पको खोजी तथा मर्मत सम्भारमा जुटेका छन् । केही विद्यालयहरुले अस्थायी टहरा बनाएर कक्षा सञ्चालन गर्ने तयारी गरेका छन् ।

भूकम्पपछि पराकम्पन जाने क्रम अझै रोकिएको छैन । यस्तै धेरै बालबालिकाहरु अझै पनि अभिभावकसँगै पालमूनिको वासमा बस्दै आएका छन् । त्यसैले विद्यालय खुले पनि नियमित कक्षा सञ्चालन भन्दा पनि विद्यार्थीहरुको मनोत्रास हटाउँन मनोवैज्ञानिक कक्षाहरु सञ्चालन गर्न शिक्षा मन्त्रालयले आग्रह गरेको छ । यता केही अभिभावहरु भने अहिले नै आफ्ना बाल बच्चालाई विद्यालय पठाउँन तयार देखिएका छैनन् ।  

Comments

comments