एजेन्सी । विश्व फुटवलको सर्वोच्च संगठन विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षमा सेफ ब्लाटर पाँचौ पटक चुनिएका छन् ।

स्वीटजरल्यान्डको ज्यूरिचमा शुक्रबार राति भएको वार्षिक बैठकमा प्रतिस्पर्धी जोर्डनका राजकुमार अली बिन हसनले नाम फिर्ता लिएपछि ब्लाटर नयाँ कार्यकालका लागि निर्विरोध पुनः अध्यक्षमा चुनिएका हुन् । ब्लाटरको यो पाँचौ कार्यकाल हो । उनी पहिलोपटक १९९८ मा फिफाको अध्यक्ष बनेका थिए ।
पहिलो राउन्डमा १३३ भोट पाएका ब्लाटर र ७३ भोट पाएका राजकुमार अलीको दुई तिहाई बहुमत निर्वाचन नआएपछि दोस्रो राउन्डमा गएको थियो ।
दोस्रो राउन्डको भोटिङमा राजकुमार अलीले नाम फिर्ता लिएपछि ब्लाटर निर्विरोध विजयी भए । यो विजयसँगै ब्लाटरले आफूमाथि लागेका भ्रष्टाचार र अनियमितताका आरोपको खण्डन र आफ्ना विरोधीहरुको मुख थुन्न सफल भएका छन् । उनले आगामी चार वर्ष फिफाको नेतृत्व गर्नेछन् ।

यसैबीच ब्लाटर विजयी भएपछि युरोपियन राष्ट्रहरुले भने असन्तुष्टि जनाएका छन् । युरोपियन फुटबलका प्रमुख मिचेल प्लाटिनीले कडा धम्की दिदै यूरोपियन राष्ट्रहरुले विश्वकप नै बहिष्कार गर्नेसम्मका चेतावनी दिएका छन् ।

ब्लाटरलाई निर्वाचनअघि अमेरिकासँगको मिलेमतोमा आफूविरुद्ध उभिएका उपाध्यक्षसहित दक्षिण अमेरिकन फुटबलका पदाधिकारी तथा फिफाका सदस्यहरुलाई नियोजितरुपमा पक्राउ गरी फसाएको आरोप लागेको छ ।

Comments

comments