अस्ट्रेलियामा गैर कानूनी रुपमा बसेर काम गर्दै आएका विदेशीमाथि यहाँको सरकारले कडाइ गरेको छ ।

त्यस्ता अवैध कामदार भए नभएको भन्ने थाहा पाउँन विभिन्न राज्यका रोजगारदाता कम्पनीहरुमा प्रहरी र अध्यागमन विभागले आकस्मिक छापा मार्ने कार्यलाई तीव्रता दिएको छ । अवैध विदेशी नागरिक र कामदारहरुलाई पक्राउ गर्न अपरेशन क्लाउड बस्ट नामक राष्ट्रिय अभियान नै सञ्चालन गरिरहेको छ ।

अभियानका क्रममा यसै साता मात्र थप ३८ जना अवैध कामदारलाई पक्राउ गरिएको छ । पक्राउ परेका मध्ये ३२ जना गैरकानूनी रुपमा अस्ट्रेलिया बस्दै आएको पाइएको छ । यस्तै बाँकी ६ जनाले भने आफ्नो क्षेत्रभन्दा बाहिरको क्षेत्रमा काम गरेको पाइएको यहाँको अध्यागमन विभागले जनाएको छ । पक्राउ परेको दुई जना मध्ये एक जनाको भिसा नरहेको र अर्को एक जनाको स्टुडेन्ट भिसा क्यान्सिल भएको पाइएको थियो । ती दुवै जना भिसा म्याद सकेकाहरुलाई काम खोजीदिने दलालको रुपमा संलग्न रहेका थिए ।

अवैधानिक विदेशीहरुलाई काममा नराख्न रोजगारदाताहरुलाई पनि सरकारले चेतावनी दिएको छ । यदि कसैले अवैधानिक रुपमा बस्दै आएकाहरुलाई रोजगारी दिएको पाइएमा त्यस्ता कम्पनीहरुमाथि कडा कारवाही गर्ने जनाइएको छ । यसलाई रोक्न रोजगारदाता कम्पनीहरुले आफ्ना सबै कामदारहरुको पूर्ण विवरण राख्नुपर्ने व्यवस्था गरिने भएको छ ।

Comments

comments