हिमालयन कङ्गारु । अर्थमन्त्रालयले आगामी आर्थिक बर्षको लागि बजेटको तयारी थालेको छ । तर भूकम्पबाट अर्थमन्त्रालयको बजेट महाशाखाको भवन नै क्षतिग्रस्त भए पछि मन्त्रालयको बजेट महाशाखाले पालमुनि बसेर भए पनि आगामी आर्थिक बर्षको बजेट निर्माण गरिरहेको छ ।

विनाशकारी भूकम्पले अर्थमन्त्रालय पनि प्रभावित भएको छ । अर्थमन्त्रालयले भूकम्पबाट बजेटको जिम्मा दिएको बजेट महाशाखाको भवन क्षतिग्रस्त भए पनि बजेट निर्माणको कार्यलाई भने जारी राखेको छ । मन्त्रालयले बजेट महाशाखाकोे क्षतिग्रस्त कोठाहरुको मर्मत तथा पुर्ननिर्माणको काम समेत थालनी गरिसकेको छ ।

बजेट निर्माण गर्नु अर्थमन्त्रालयको मुख्य काम मध्येको एक हो । बजेट निर्माण आफैमा संवेदनशील र महत्वपूर्ण कार्य मानिन्छ । त्यसैले नयाँ आर्थिक वर्ष शुरु हुनै लाग्दा अर्थका कर्मचारीहरुले मन्त्रालय बाहिर पालमूनि नै बसेर भए पनि बजेट निर्माणको कामलाई जारी राखेको अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख बैकुण्ठ आर्यालले बताउनुभयो ।

भूकम्पबाट देशको अर्थतन्त्र नै प्रभावित भइरहेको अहिलेको अवस्थामा अर्थ मन्त्रालयले आगामी आर्थिक बर्षको बजेटमा भूकम्प प्रभावित जनता र प्रभावित क्षेत्रमा बिशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख अर्यालले अर्थले आगामी बजेटमा पुर्नवास तथा पुर्ननिर्माणका योजनाहरुलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो ।

बैशाख १२ गते गएको महाबिनाशकारी भूकम्प र त्यस पछिको पराकम्पनबाट अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा सरकारले ल्याउँने आगामी आर्थिक बर्षको बजेट कस्तो रहने हो ? प्रतीक्षाको विषय बनेको छ ।

Comments

comments