भूकम्पका कारण यता देशभित्र सिंगो मुलुक नै त्रास र पीडाले रोइरहेको बेला स्वदेशमै पनि एकसेएक भनिएका कलाकारहरु नै भूकम्प गीतको वहानामा आफैंलाई प्रोमोट गर्नमा व्यस्त छन् ।

लक्षित भनिएका श्रोता र दर्शक नै वाक्क बनाइ उनीहरुले त्यस्त भूकम्प गीतबाट उल्टो आफ्नै क्रेज गुमाइरहेको छ । देशको यस्तो विपत्तिमा विदेशमा पनि थुप्रै मुलुकहरुमा कन्सर्टको आयोजना भैरहेका छन् । जसमा नाम चलेका कलाकार र समूह आफ्नो प्रस्तुतिका लागि पुगिरहेका छन् । तर विदेशमा पछिल्लो समयमा हुने यस्ता कार्यक्रमहरुलाई भने आयोजक र त्यसमा सहभागी कलाकारहरुले भूकम्प पीडितका लागि आर्थिक सहयोग जुटाउँने मञ्चका रुपमा प्रयोग गर्न थालेका छन् ।

वेलायतको विभिन्न शहरमा सांगीतिक कार्यक्रम गरेर भर्खरै फर्केका गायिका अन्जु पन्त, नायिका प्रियंका कार्की र गायक शिव परियारको समूहले पनि भूकम्प पीडितका लागि केही आर्थिक राहत संकलन गरेका छन् ।

नयाँ वर्षको अवसर पारी बि.जे.जी. ग्रुपले आयोजना गरेको ती कार्यक्रममा दर्शकको उपस्थिति भने न्यून रह्यो । नेपालमा गएको महाभूकम्पको असर कार्यक्रममा प्रत्यक्ष पर्यो । कार्यक्रमको पूर्व तयारी भइसकेकाले कार्यक्रमलाई स्थगित नगरी भूकम्प पीडितको सहयोगार्थ कार्यक्रम गरिएको आयोजकले बताएको छ ।

वेलायतको विभिन्न शहरमा आयोजित ५ ठाउँबाट संकलित ५ लाख रुपैयाँ भूकम्प पिडितलाई सहयोग गरिने भएको छ । साथै गायिका अन्जु पन्तले कार्यक्रमबाट आएको सम्पूर्ण पारिश्रमीक पीडितहरुलाई दिने बताएकी छिन् । गायक शिव परियार र नायिका प्रियंका कार्कीले पनि नेपाल फर्किए लगतै राहत तथा उद्धामा खटिने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

Comments

comments