भूकम्पका कारण साक्षरता अभियान प्रभावित भएको छ । सन् २०१५ भित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने सरकारको लक्ष्य भूकम्पका कारण पूरा नहुने भएको छ । पूरै देशलाई पूर्ण साक्षर घोषणा गर्ने लक्ष्यअनुसार अनौपचारिक शिक्षा केन्द्रले ६८ जिल्लामा ‘राष्ट्रिय साक्षरता अभियान’ सञ्चालन गर्दै आएको थियो ।

साक्षरता अभियानअन्तर्गत हालसम्म ६ वटा जिल्ला पूर्ण साक्षर भैसकेका छन् । १० वटा जिल्ला घोषणाको अन्तिम तयारीमा थिए । भूकम्पले सरकारको अभियान पूरै ठप्प भएको अनौपचारिक शिक्षा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताउँनुभयो । त्यसैले यसैवर्ष पूरै देश पूर्ण साक्षर बनाउने लक्ष्य पूरा नहुने भएको पनि उहाँले बताउँनुभयो ।

साक्षरता अभियान रोकिएपछि त्यसका लागि विनियोजित बजेट पनि फिर्ता गरी भूकम्प पीडितको राहत तथा उद्धारका लागि खर्चने सरकारको तयारी छ ।

साक्षरता अभियानका लागि चालु आर्थिक वर्षमा १ अर्ब ५ करोड ७० लाख १५ हजार रुपैयाँविनियोजन गरिएको थियो । अभियान चलेका ६८ जिल्लामध्ये १७ जिल्लामा सघन कार्यक्रम चलाइएको थियो ।
सघन कार्यक्रम चलाइएका १७ जिल्लामध्ये नुवाकोट सबैभन्दा धेरै प्रभावित भएको छ । नुवाकोटमा १ करोड ९८ लाख ७७ हजार ३२६ रुपैयाँ बजेट बिनियोजन गरिएको थियो ।

पूर्णसाक्षरको कार्यक्रम चल्दै आएका गोरखा, लमजुङ, दोलखा, रामेछाप, नुवाकोट, रसुवालगायतका जिल्ला अति प्रभावित भएका छन् ।
भूकम्पले साक्षरता अभियानलाई पारेको प्रभावबारे अनुगमन गरिरहेका केन्द्रका डेपुटी डाइरेक्टर विष्णु मिश्रले भूकम्प प्रभावित जिल्लामा तत्काल कक्षा सन्चालन गर्न सकिने अवस्था नरहेको बताउँनुभयो ।

सकेसम्म सन् २०१५ भित्रै पूर्ण साक्षर घोषणा अभियानलाई सफल बनाउनका लागि सबै प्रकारका प्रयास गरिने मिश्रले बताउँनुभयो । तर, सफल हुने सम्भावना भने कम रहेको उहाँको भनाइ छ ।

Comments

comments