बच्चाहरु साक्षात ईश्वर हुन् भनिन्छ । उनीहरुको अवोधपनमा पाइने निश्चलताले गर्दा पनि त्यसो भनिएको हुनसक्छ । अलबामामा एक पाँच वर्षीय बालकले गरेको हर्कतले अझ यो कुराको पुष्टि गर्दछ ।

जुसिया डन्कन नामक पाँच वर्षीय बालकलाई लिएर उनकी आमा एउटा फाष्टबुड रेष्टुराँमा खानेकुरा खान गएकी थिइन् । उनकी आमा अभा फाउल्कले ती बालकलाई वाफल हाउस नामक रेष्टुराँमा खानेकुरा खुवाउँने गरी लगेकी थिइन् । जसै उनकी आमा रष्टुराँको मेनु हेर्दै खानेकुरा अर्डर गर्दै थिइन्,ती बालकले रेष्टुराँ बाहिर एउटा घरवार नभएको मगन्ते व्यक्तिलाई देखे । उसले केही खानेकुरा माग्दै थिए तर कसैले पनि उसको कुरा सुनिरहेको थिएन । त्यो दृश्य देखेर पाँच वर्षीय ती बालकको मनमा कुन्नि के पस्यो,तब उनी ती मगन्तेका लागि पनि खानेकुरा मगाइदिन आफ्नी आमासँग जिद्दी कस्न थाले । उनकी आमाले अपरिचित मगन्ते व्यक्तिलाई खाना मगाउँन अनिच्छा देखाएपछि ती बालकले जोडतोडले रुदै आफ्नो जिद्दी दोहोर्याउन थाल्यो । बच्चाको रुवाइ सुनेर त्यहाँ रहेका अन्य ग्राहकहरुको पनि ध्यान उतैतिर तानियो । जब बालकको जिद्दीको बारे सबैले सुने,त्यहाँ रहेका ११ जना ग्राहकको मात्र होइन रेष्टुराँका कर्मचारीको आँखा समेत आँसुले भरियो । आफूप्रतिको बालकको सहानूभूति देखेर ती मगन्ते पनि नरोइकन बस्न सकेन ।

छोराको जिद्दीको अगाडि केही नलागेपछि ती मगन्तेका लागि खानेकुरा अर्डर गर्न आमाले सहमति दिएपछि ती बालक खुशी हुँदै मगन्ते बसेको ठाउँमा गएर के खानुहुन्छ भनी सोधे । ती व्यक्तिले शुरुमा त मानेनन् तर बालकले जिद्दी गरेपछि उसले लजाउँदै एउटा सस्तो ह्यामवर्गर मगाए । तर बालककी आमाले उसको लागि पूरै खाना मगाईन् ।

‘मेरो छोराको दयालुपनबाट सबैजना आश्चर्य चकित मात्र भएनन्,त्यहाँ रहेका सबैलाई रुवाए । बच्चाहरुमा ईश्वरको अवशेष हुन्छन् भन्थे आज आफ्नै छोरामा भेट्टाएँ’,आमा अभाले प्रसन्न्ताका साथ बताइन् ।

Comments