विनाशकारी भूकम्पपछिको पराकम्पन जाने क्रम बिस्तारै कम हुन थालेको छ । आइतबार राती एउटा पनि पराकम्पन नगएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । तर पराकम्पन आउने डरले धेरैजना घर बाहिर नै सुतेका थिए । शनिबार राती पनि पराकम्पन गएको थिएन । तर आइतबार बिहानै पराकम्पन गएको थियो ।

आइतबार बेलुका ८ बजेर ४० मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएपछि सोमबार बिहान साढे ६ बजेसम्म एउटा पनि पराकम्प गएको छैन । आइतबार दिनभर ३ वटा पराकम्प गएको थियो ।

केन्द्रका अनुसार वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टर स्केलको ठूलो भूकम्पपछि साना ठूला गरेर हजारौ पराकम्पन गैसकेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार अहिलेसम्म २ रेक्टर स्केलमाथि र ४ रेक्टर स्केल मुनिका १० हजार भन्दा धेरै पराकम्पन गैसकेका छन् ।

४ रेक्टर स्केलकामात्रै २ सय ४० वटा रेकर्ड गरिएको छ । ६ भन्दा माथिका ७ भन्दा मुनिका ५ वटा पराकम्प गइसकेको छ । ठूलो भूकम्प नगएपनि सानो पराकम्प गैरहेकाले सतर्क हुन केन्द्रका प्रमुख अधिकारीले सबैलाई आग्रह गर्नुभयो । साना पराकम्प जाँदा ठूलो धक्का आउने सम्भावना कम हुने उहाँले बताउनुभयो ।

Comments

comments