देशको प्रशासनिक केन्द्र सिंहदरवारबाट मात्रै ४० किलोमिटरको दुरीमा छ, धादिङको थाक्रे गाविस । राजधानीसँग जोडिएको जिल्ला भएपनि थाक्रे विकास निर्माण र सेवा सुविधाका सवालमा ज्यादै पछाडि छ । चरम गरीबीमा रहेका थाक्रे सोप्याङका तामाङबस्तीमा हालैको विनाशकारी भूकम्पका कारण अहिले झन् समस्या थपिदिएको छ ।

राजधानी काठमाडौंबाट सडक मार्ग पच्छ्याउँदै फित्तामै नाप्ने हो भनेपनि जम्मा ४० किलोमिटरको दुरीमा छ, धादिङ जिल्ला थाक्रे गाविसको सोप्याङ गाउँ । त्यसो त नौबिसेबाट टिष्टुङ, पालुङतिर जाने बाइरोडको यो बाटो पक्की छ । तर वैशाख १२ गते मध्यान्ह गएको भूकम्पले ध्वस्त बनाएको यो गाउँमा यतिबेलासम्म राहतको नाममा एउटा सानो त्रिपाल र १० किलो चामल मात्रै पुगेको छ,त्यही पनि चौधौं दिनमा ।

सोप्याङ गाउँमा करिब ५० परिवारको तामाङ बस्ती छ । ५० परिवारमा १ सय ८० भन्दा बढी जनसङ्ख्या छ । तर भूकम्पले गाउँका सबै घर ध्वस्त बनाएपछि अहिले यहाँ कन्त बिजोग छ । भूकम्पले सबै घर ध्वस्त बनाएपछि दुई दिन त यहाँका मानिसहरुले खानेकुरा सम्म पाएनन् । अधिकांश बच्चा र वृद्धवृद्धा भएकाले उनीहरुको जीवन झन् दुखिरहेको छ यतिबेला । पर्याप्त त्रिपाल र खाद्यसामग्री नहुँदा उनीहरु यसरी भग्नावशेषबाट खाद्यान्न निकालेर खान बाध्य छन् ।

राजधानीबाट नजिक भएपनि सरकारी संयन्त्रले कुनै वास्ता नगरेको यहाँको स्थानीयको गुनासो छ । अहिले बस्नका लागि सामान्य व्यवस्थासमेत नहुँदा पानी परेको बेला त्रिपालभित्रै चुहिएपछि यसरी तर्काउनुपरेको छ । वर्षातको मौसम आउनै लागेकाले झन् बिजोग हुने भन्दै चाँडै नै बसोबासका लागि पहल गरिदिन स्थानीयले आग्रह गरेका छन् ।
यसरी धादिङ थाक्रेका तामाङहरुले बसोबासको व्यवस्था मिलाइइदिन सरकारसँग आग्रह गरिरहेका छन् ।

गरीब र पिछडिएका वर्गका मानिस भएकाले आँफैले घर बनाउन सक्ने सम्भावना नभएको भन्दै उनीहरुले सरकारसँग गुहार मागिरहेका छन् ।

Comments