किंग्स इलेभेन पन्जाबलाई १३८ रनले पराजित गरेसँगै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आइपीएलमा सबैभन्दा ठूलो जित दर्ता गर्न सफल भएको छ ।

क्रिस गेलको विस्फोटक ब्याटिङको मद्दतमा बैंगलोरले गयराति घरेलु मैदानमा किंग्स इलेभेन पन्जाबलाई १३८ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको नोक्सानीमा २२६ रनको विशाल योगफल तयार पार्‍यो । क्रिस गेल एक्लैले ११७ रन हिर्काए । गेलले मात्र ५७ बलमा १२ छक्का र ७ चौकाको मद्दतमा उक्त शानदार पारी खेलेका हुन् ।

बैंगलोरको इनिङ्समा एबी डि भिल्लियर्सले पनि ४७ रनमा अभिजित रहे । २२७ रनको विशाल चुनौती पछ्याएको पन्जाब १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८८ रनमा समेटियो । अक्षर पटेलले ४० रन बनाए। पन्जाबका अन्य कुनैपनि ब्याट्सम्यान क्रिजमा जँन सकेनन् ।

पन्जाबको इनिङ्सलाई ध्वस्त पार्नेक्रममा मिचेल स्टार्क र श्रीनाथ अरविन्दले समान ४–४ विकेट लिए। जितसँगै बैंगलोर १० खेलबाट ११ अंकका साथ आइपीएलको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने पराजित पन्जाब पुछारमा छ ।

Comments

comments