अष्ट्रेलियाली नेपालीहरु माझ गणेश मल्ल अहिले चर्चामा छन् । एउटा क्रिकेट ब्याटलाई २,६५० डलर खर्चेर उनले यो चर्चा बटुलेका हुन् । तर उनले उक्त रकम चर्चाका लागि भन्दा पनि समाजसेवाका लागि खर्चेका हुन् । उनले तिरेको उक्त रकम भूकम्पबाट प्रभावित नेपालीहरुका लागि स्थापित राहत कोषमा जानेछ ।

गत सोमवार चितवन समाज र एस इभेन्ट्सले थोनबरी थियटरमा आयोजना गरेको आर्थिक संकलन अभियान कार्यक्रममा मल्लले एउटै क्रिकेट ब्याट्सका लागि २६०० डलर तिरेका हुन् । राहतका लागि आर्थिक संकलन जुटाउँने उदेश्यले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको उपस्थितिमा भएको लिलामी कार्यक्रममा मल्लले क्रिकेट ब्याटका लागि उक्त रकम तिर्न कबुल गरेका हुन् ।

उक्त क्रिकेट ब्याटमा अष्ट्रेलियाली क्रिकेट टिमको हस्ताक्षर रहेको छ । कार्यक्रममा टिसर्टस् लगायत क्रिकेटका अन्य सामग्रीहरुको पनि लिलामी गरिएको थियो ।

नेपालमा हुने राम्रो कामका लागि खर्चने भएकोले एउटा ब्याटका लागि आफू २,६५० डलर तिर्न तयार भएको गणेशले बताए ।

Comments

comments