गायिका स्मृति पोखरेल अष्ट्रेलियामा बस्छिन् । नेपालमा वैशाख १२ गते विनाशकारी भूकम्प जाँदा पनि उनी यही अष्ट्रेलियामै थिईन् । तर जसै उनले नेपालमा महाभूकम्प गएको र त्यसले पारेको विनाशबारे अनलाइन र टेलिभिजनहरुबाट थाहा पाईन्,तब उनी विचलित जस्तै बनिन् । दैवी प्रकोपले गाँजेको यो समयमा ती पीडितहरुले आफू जस्तै स्वयम्सेवीहरुको सहयोग मागिरहेको उनको मनमा आभाष हुन थाल्यो । त्यसैले उनी आफ्नो दैनिकी र काम सबै छाडेर तत्काल नेपालका लागि उडिन् । यो वैशाख १३ गतेको कुरा हो । यसरी भूकम्प पीडितको उद्दार र राहत वितरण गर्ने उद्देश्यले विदेशबाट काठमाडौं आइपुग्ने उनी पहिलो नेपाली महिला बनिन् ।

smriti
काठमाडौं आएपछि यहाँको क्षतविक्षत अवस्था देखेर उनी अझ दुखी भईन् । तर पीडितको सहयोगका लागि आएकी उनी पहिलो दिनदेखि नै त्यसैमा तल्लीन भईन् । यसक्रममा भूकम्पले बढी प्रभावित जिल्ला गोरखाको विभिन्न गाउँहरुमा पुगेकी छिन् । अत्यावश्यकीय औषधी र राहत सामाग्रीका साथ । गोरखापछि चितवन लगायतका अन्य प्रभावित जिल्लाहरुमा पनि पुग्ने योजना रहेको स्मृतिले हिमालयन कङ्गारुलाई बताईन् ।

अहिले उनीसँगै पाँच जना स्वयम्सेवीहरु प्रवासी नेपाल नामक सामजिक संस्था मार्फत भूकम्प पीडितहरुको सहयोगमा जुटिरहेकी छिन् । आफूले सुनेको र पढेको भन्दा अझ बढी नजिक गएर हेर्दा प्रभावितहरुको अवस्था निकै नाजुक रहेको पाएको उनले बताईन् । यस्तो विषम परिस्थितिमा पीडितहरुसम्म पुगेर उनीहरुको पीडा बाँड्न नसके पनि आत्मसात गर्न र केही सहयोग गर्न पाएकोमा उनी सन्तुष्ट छिन् । दुखको बेला नै हो हामीले साथ दिने,सुखमा त हजारौं हुन्छन्,उनले भनिन् ।

Comments