नेपालमा आएको आकस्मिक विपत्तिपछि विपदमा परेका नेपालीहरुको सहयोगका लागि विश्वका कुनाकुनाबाट सहयोग जुट्ने र जुटाउँने अभियान जारी छ ।

भूकम्प पीडित नेपालीहरुको राहतका लागि अष्ट्रेलियाका विभिन्न राज्यहरुमा पनि राहत संकलन कार्य चलिरहेको छ । त्यसरी संकलित राहत रकम र जिन्सी सामान मध्ये केही नेपाल पठाएर पीडितसम्म पुगिसकेका छन् । यसैक्रममा नेपाली समुदायको उल्लेख्य सक्रियता रहँदै आएको भिक्टोरिया राज्यमा पनि नेपालका भूकम्प पीडितहरुका लागि राहत सहयोग संकलन अभियान जारी छ । एनआरएनए भिक्टोरियाको नेतृत्वमा जारी राहत संकलन अभियान अन्तर्गत हालसम्म करिब ६६ हजार भन्दा बढी अष्ट्रेलियन डलर नगद जम्मा भैसकेको जनाइएको छ ।

भिक्टोरियन्स फर नेपाल नामक सामाजिक सञ्जालमा सञ्चालित अभियानबाट नगदको साथमा उल्लेख्य मात्रामा टेन्ट र लत्ता कपडा लगायतका जिन्सी सामान समेत संकलन भएको छ । संकलित रकम र सामान छिट्टै नेपाल पठाउँने तयारी समेत भैरहेको एनआरएनए भिक्टोरियाले हिमालयन कङ्गारुलाई जानकारी दिएको छ ।

Comments