–बुद्धि शर्मा ।

विनाशकारी विपत्तिहरु सञ्चारमाध्यमका महत्वपूर्ण समाचार नै हुन् र हुनुपनि पर्छ । तर विनाशले ल्याएको ताण्डवको असरबाट प्रभावितहरुलाई मानसिकरुपमा नै सद्भावको पनि उत्तिकै खाँचो हुन्छ । यो आशा र अपेक्षा यतिखेर नेपाली जनताले खोज्नु अस्वाभाविक थिएन पनि । पीडामा मल्हमको आश गर्नु पीडितहरुको अधिकार नै हो । तर गत वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पमा दक्षिणको छिमेकी मुलुक भारतका कतिपय सञ्चार माध्यमले गरेको प्रस्तुति कम सहानुभूतिका तर अधिक नकारात्मकका साथै अतिरञ्जित भएको ठहर नेपाली मात्र नभई धेरैको छ ।

भूकम्पको असरका सुरुवातका दिनमा भत्किएका धरोहरका इटा इटा र पर्खाल पर्खालमा भारतीय सञ्चार माध्यमहरुले भारतको उपस्थिति अनिवार्य नै देख्यो । उद्दारका लागि नेपालमा खटिएका भारतीय उद्दारकर्मीलाई विपत्तिमा परेका नेपालीहरुका लागि ‘देवदूत ’ को संज्ञा दिन पछि परेनन् । भारतीयहरु नआएको भए थप ठूलो क्षति र ‘तवाह’ नेपालले भोग्नु पर्ने अतिरञ्जित मसलाले पनि उनीहरुले आफ्नो समाचार रंग्याए । भारतबाट ल्याइएका हेलिकप्टरबाट समाचार संकलनको नाममा आरामको सुविधा पाएका उनीहरु गाउँठाउँ पनि पुगे भने काठमाडौं उपत्यकामा उनीहरुलाई कुनै छेकवार रहेन पनि । तर जब भारतीय मिडियाहरुको प्रस्तुतिलाई लिएर व्यापक विरोध एवं विवाद सिर्जना पुग्यो र केही नाम चलेका भारतीय पत्रकार, सञ्चारविद् एवं विज्ञहरुले समेत भारतीय मिडियाहरुको उरन्ठ्यालो र संवेदनाहिनतालाई लिएर विरोध एवं आपत्ति प्रकट जनाए तब आज तक नामको टेलिभिजनले काठमाडौं सपनाको शहरको रुपमा प्रस्तुत गर्दै घण्टौं लामो रिपोर्ट पेश ग¥यो ‘सपनाको शहरको अन्त्य ’ । त्यस्तै जी न्यूजले पनि विश्वलाई चकित पार्ने क्षमता राख्ने नेपालीहरुले काठमाडौंको कलालाई पुर्नजन्म दिएर फेरि एकपटक सबैलाई चकित पार्ने विश्वासको रिपोर्ट बनायो ‘काठमाडौं फेरि जन्मनेछ ’ । तर यी एकाध बाहेक धेरै रिपोर्ट र समाचारहरुले नेपालीको मनमा भारतीयहरु प्रति फेरि एक पटक संशय पैदा गर्न बाध्य बनायो ।

नेपालमा गएको भूकम्पवारे रिर्पोटिङ गर्न ठुलो संख्यामा भारतीय पत्रकारहरु उच्च प्रविधीहरुसहित नेपाल आएका थिए। भारतीय सञ्चार माध्यमलाई नेपालस्थित भारतीय दुतावास र भारतवाट आएका सेना, कर्मचारी एवं उद्धार टोलीहरुले पूर्ण सहयोग गरेका थिए। जसको कारण भारतीय उद्धार टोलीले गरेका हरेक अभियानमा ठुलो संख्यामा भारतीय सञ्चार माध्यमको उपस्थिति हुने ग¥थ्र्यो । यसकारण भारतीय टोलीले गर्ने सामान्य कार्यहरुलाई समेत त्यँहाका सञ्चार माध्यमले यसरी प्रस्तुत गर्दथे कि मानौं नेपालमा भारतीय उद्धार टोलीले वाहेक अरुले सिन्कोपनि भाचँेका छैनन्।

त्यतिमात्र कहाँ हो र भारतीय टेलीभिजन च्यानलहरुले नेपाली भूुमिको दुरुपयोगगरि पाकिस्तान उद्धार टोलीको गर्नु वेईज्जत गरे। त्यति गर्दापनि नेपाल सरकार मौन रहयो ।

नेपालको महाविनासकारी भूकम्पवारे वास्तविकता भन्दा अनावश्यक टिका टिप्पणी गर्ने प्रमुख सञ्चार माध्यम थियो भारतकै सर्वाधिक लोकप्रिय टेलीभिजन च्यानल भएको दावी गर्ने आज तक । यस च्यानलले भूकम्प गएको भोलीपल्टदेखिनै सुनियोजितढङ्गले अतिरञ्जित किसिमले भूकम्पले नेपाल सखापप्राय भएको भन्दै नेपाल जोगाउन भारतीय उद्धारटोलीले महत्वपूर्ण भूमिका खेलिरहेको वताएको थियो। अत्यन्त संवेदनसिल विषयवस्तुमा समेत अत्यन्त हल्काढङ्गले प्रस्तुति गरेको भन्दै आज तक को दुनियाभरमै आलोचना भएको छ।

त्यसतैगरि भारत कै एविपी न्युज, एनडिटीभि, टाईम्स नाउ लगाएतका टेलीभिजन च्यानलहरुले समेत वस्तुपरक एवं पत्रकारिताका सामान्य सिद्धान्त विपरित गएर गरेको रिर्पोटिङ्ग हेर्ने स्वदेश एवं विदेशका दर्शकहरुले भारतीय मिडियाको मानसिक दरिद्रता एवं व्यावसायिकहिनतावारे प्रस्ट हुन पाए।
तुलनात्मकरुपमा भारतका छापा माध्यामहरुचाहिँ संयम भएको पाईयो। इन्डियन एक्सप्रेस, द हिन्दु, हिन्दुस्तान टाईम्स, टाईम्स अफ इन्डिया लगाएतका चर्चित पत्रिकाहरुको भूकम्पवारे रिर्पोटिङ्ग संवेलनसिल एवं सहि देखिन्थ्यो। नेपाल इतिहासकै भयानक संकटमा परेकाले उसको सहयोगकोलागि सवै मित्र राष्ट्रहरुले उदारतापूर्वक सहयोगको हात बढाउनुपर्ने निष्कर्ष पाईन्थ्यो ती अखवारहरुमा।

नेपालको महाविनासकारी भूकम्पवारे भारतका सामाजिक सञ्जालहरुमा समेत यथेष्ट स्थान दिएको पाईयो। फेसवुक, ट्वीटर लगाएतका सामाजिक सञ्चालहरुमा नेपालप्रति सहानुभूति एवं नेपाली एक्ला छैनन् भन्ने खालका भावुक टिप्पणीहरु गरेका पाईयो।

अझ अनौठो त के भने भारतीय टिभी च्यानलहरुको संवेदनाहिन प्रस्तुतीकरणवारे नेपालमामात्र नभई यसपटक धेरै भारतीयहरुले सामाजिक सञ्जालमा आक्रोस पोखे। एक जना भारतीय युवाले ट्वीट गर्दै लेखेका थिए भारतीय टिभीहरुको उपद्रो नेपालीहरुले केही दिन भोगे हामीले त दशकौं देखि भोग्दै आएका छौं।

महाविनासकारी भूकम्पको कारण नेपाललाई सहयोग गर्न सवैभन्दा पहिले आएको वाह्य उद्धार टोली थियो भारतको। भनिरहनु पर्दैन भारतीय उद्धार टोलीले आफ्नो ज्यानको पर्वाह नगरी रात दिन खटेर भूकम्प पीडितहरुको सेवा गरिरहेका छन्। त्यसको नेपालीले ह्रदयदेखि नै सराहना गरेका छन्। तर सहयोगको वहानामा जुन किसिमको अनावश्यक प्रपोगाण्डा गरिएको त्यो आपत्तीजनक छ र एक सार्वभौम राष्ट्रको सीमा र मर्यादा विरुद्ध छ ।

लेखक शर्मा न्यूज २४ टेलिभिजनमा कार्यरत हुनुहुन्छ

Comments

comments