बृहस्पति विद्या सदनमा “स्वस्थानी” नाटकमा अभिनय गरे पछि निरन्तर नेपाली रङ्गमन्चमा रमेका प्रेम पौडेल जन्मथलो बाग्लुंगमा रहँदा नै स्थानीय स्तरमा आयोजना हुने नाटकहरुमा सानै उमेर देखि सहभागी हुन्थे | करिब ४ दर्जन नाटकमा अभिनय गरिसकेका उनले २ दर्जन नाटक आफैले लेखन तथा निर्देशन गरेका छन् | रङ्गमन्चमा समर्पित पौडेलले केहि चलचित्र र रेडियो नाटकमा समेत आफ्ना प्रस्तुति पस्किएका छन् | बिभिन्न सचेतनामुलक सडक नाटकहरु अनि   शैली थियटर मार्फत थुप्रै स्तरीय नाटक रङ्गमन्चमा उतारेका उनले पछिल्लो समय “लोक दृष्टि premथियटर”को स्थापना गरि नाटकहरु प्रश्तुत गर्दै आएका छन् | “लोक दृष्टि थियटर”का संस्थापक प्रमुख रहेका पौडेलले काठमाडौँ उपत्यकामा  १० भन्दा बढी विद्यालय र ५ भन्दा बढी थियटरमा नाटक प्रशिक्षण  संचालन गरेका छन्  | हाल क्रियटिभ एकेडेमी कीर्तिपुरमा नाटक प्रशिक्षण गराई रहेका प्रेम पौडेलले केहि समय अघि मात्र क्रियटिभ एकेडेमी कै विद्यार्थीहरुको सभागीतामा निर्मित नाटक “झुमा”लाई  अन्तराष्ट्रिय नाटक महोत्सबमा सहभागी गराउन उडिसा  पुर्याए | नेपाली रङ्गमन्चको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय स्तरमा समेत नेपाली  नाटक र कलाकारितालाई उतार्न सफल पौडेलको प्रयासले अहिले अर्को उचाई चुम्ने क्रममा छ |

यसैबीच क्रियटिभ एकेडेमी कीर्तिपुरले  तयार पारेको नाटक अभागिनी आमा–२ वैशाख १८ गते, शुक्रबार फ्रान्सको बर्जाकमा  मञ्चन हुने भएको छ । आर्ट टटोउली फ्रान्सको आयोजनामा यही मे महिनाको पहिलो साता हुने लेस थिएट्रोप फेस्टिभलमा आफ्नो नाटक छनोट भएको क्रियटिभ एकेडेमीका नाट्य निर्देशक  पौडेल ले जानकारी दिए । साथै उनले फ्रान्सको प्रदर्शन को लागी सम्पुर्ण तयारी पुरा भएको पनि बताए । अभागिनी आमा–१ ले निकै चर्चा कमाउन सफल भएपछि  क्रियटिभ एकेडेमी ले महोत्सवका लागि अभागिनी आमा–२ तयार पारेको हो ।

नेपाल को एउटा गाउँको कुनै एक घरको अगाडी एक बालिका भावुक मुद्रामा रहेको दृष्य सँगै नाटकको शुरु हुन्छ ।त्यत्तिकै मा त्यही घरमा घुम्दै फिर्दै एक जना वटुवा आईपुग्छन् ।बालीकाको मलिन अनुहार र निराशाजनक कुराहरु सुनेपछि बटुवालाई झन् उनको बारेमा जान्ने उत्सुकता जागेर आउँछ । बालिका ले आफ्नो कथा बताउँदै जाँदा नाटकमा फ्लास ब्याकका दृष्ययहरु शुरु हुन्छन् ।

उक्त बालिका को घरमा उनका साथ उनका दाइ ,बुवा र आमा बस्ने गरेका हुन्छन् ।उनीहरु गरिव भए पनि एक अर्का लाई निकै माया गर्दछन् ।बालिकाको दाजुको घाटिमा समस्या भएको हुनाले उनका बा आमा रिन खोजेर उपचार गर्न लैजाने तयारीमा जुट्दछन् ।यत्तिकैमा देशमा गृहयुद्ध चर्किदै जान्छ ।सारा गाउँ त्रसित बन्छ ।एक दिन बालिकाको घरमा पनि तिन चार जना नचिनेका मान्छे आउँछन् र उनको दाजुलाई जवरजस्ति लगेर जान्छन् ।त्यसको केही दिन पछि उक्त दाजुको मृत्यू भएको कुरा घर सम्म आइपुग्छ ।उनकी आमा ले पहिले सन्तान नभए पछि मन्दिर गएर भगवान लाई भाकल गरेको,व्रत बसेको र अन्त्यमा छोराको जन्म भएको कुरा सम्झिन्छिन् ।अन्त्यमा छोराको बियोग सहन नसकी उनी पागल हुन पुग्छिन् ।

परिवारमा एका एक नसोचेको अवस्था आएपछि बाबु लाई पनि साह्रै चिन्ता पर्दछ ।उनले त्यसपछि छोरी लाई मामाघर लगेर राख्ने र आफू श्रीमति को उपचारको लागी उनलाई लिएर शहर तिर लाग्ने निधो गर्दछन् ।यसरी मामा घरमा बस्दै आएकी बालिका ले बर्षौ बित्दा पनि आफ्ना आमा,बुवा भेट्न पाउँदिनन् ।उनले आफ्नो मामा घरमा पनि आफ्ना आमा बुवा कहाँ छन् भनेर सोध्ने गछिन् तर कसैले पनि उनलाई भन्दैन ।त्यसैले उनी बेलाबेलामा मामाघर बाट भागेर आफ्नो घरमा आउँछिन् । तर त्यहाँ आउँदा आफ्नो घर रित्तै भएको देखेपछि फेरी मामाघर नै फकिन्छिन् ।

बालिका को कुरा सुनेपछि बटुवा पनि निकै भावुक हुन्छन् । उनले गृहयुद्धको बेलामा कैयौ नेपाल आमाका सन्तान टुहुरा भएको ,कतिको काख रित्तिएको,कतिको साथ छुटेको,कतिको सिन्दुर पुछिएको अनि कति त अंग भंग भएर मृथ्यूको मुख कुरेर बाँचिरहेको कुरा स्मरण गर्दछन् ।अन्यमा सगरमाथाको काखमा रहेको ,गौतम बुद्धको जन्म थलो नेपालमा लोकतन्त्र र गणतन्त्र आइसक्दा पनि नेपाल आमाको मुहार फेरिन नसकेको ले नेपाल आमालाई अभागिनी आमा को संज्ञा दिँदै नाटकको अन्त्य हुन्छ ।

यस नाटकमा आर्या सापकोटा,दिप भरा के सी,रोहित रोक्का,श्रीजन राजभण्डारी र यूरानस अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । त्यसै गरि स्याडो प्ले र मल्टि मेडियाको समेत प्रयोग गरिएको यस नाटकको संयोजन गरेका छन् शिव प्रसाद गिरी ले ।

नाटकका निर्देशक प्रेम पौडेल विज्ञानमा भौतिक शास्त्रका विद्यार्थी हुन् | बिज्ञानका विद्यार्थीको साहित्यको नाटक विधामा यो मोह पहिलो पटक सुन्नेलाई बिल्कुल अनौठो लाग्नु स्वाभाविक हो | औपचारिक अध्ययनलाई निरन्तर अघि बढाईरहेका पौडेलले बिगत दश बर्षको अवधिमा नाटक र पढाई दुबैलाई समानान्तर रुपमा अघि बढाए | अनौपचारिक रुपमा नाट्य विधा अध्ययन गरेका उनले नेपाली नाट्य इतिहासमा विद्यावारिधि गर्ने तयारीमा आफु रहेको हिमालयन कंगारु सँग बताएका छन् | निर्देशक प्रेम पौडेलको रङ्गमन्च प्रतिको मोह, लगनशीलता अनि सक्रियता देख्दा  आधुनिक नेपाली रङ्गमन्चले आशा लाग्दो युवा अनुहार पाएको महशुस हुन्छ |

Comments

comments