कमल कोईराला,

पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७२ देखि लागु हुनेगरी प्रकाशन गरेको परिवर्तित पाठ्यक्रममा आधारित कक्षा ८ को नेपाली विषयमा गम्भीर मुद्रण एवं छपाइगत त्रुटि भेटिएको छ ।

शैक्षिक सत्रको प्रारम्भ भएको केही दिनपछि मात्र बजारमा उपलब्ध भएका पुस्तकमा विषय सूचीसमेत समावेश गरिएको छैन । हाम्रो भनाई शीर्षकमा पाठ्यक्रम विकास केन्द्रको भनाई एवम् धन्यवाद ज्ञापनपछि प्रथमपृष्ठका रुपमा सिधै १ सय ३६ पृष्ठ उल्लेख गरी पाठ २० को नेपाली संस्कृति भन्ने पाठ समावेश गरीएको छ । तर उक्त पाठलाई दुई पृष्ठमै अपुर्ण छाडी पृष्ठ २ बाट पुनः नयां पाठ प्रारम्भ गरिएको छ । उक्त पृष्ठमा उपजाति छन्दको नेपाल शीर्षकको कविताका अन्तिम दुई श्लोक समावेश छन् ।

कवितामा प्रारम्भिक खण्डका बांकी श्लोकहरु पुस्तकभरि कहीं समावेश गरीएको छैन । अभ्यासमा दिईएको प्रश्नका आधारमा मात्र उक्त कविताको शिर्षक नेपाल रहेछ भन्ने कुरा अवगत हुन्छ । पाठ २ को भाग्य, ३ को देवकुमारी थापा र ४ को ग्रन्थचित्र शीर्षकको पाठमा पनि ठ्याकै सोहि त्रुटिको पुनरावृत्ति देखिन्छ । पुस्तकमा कतिपय पृष्ठहरु नै अलप छन् । नेपाली भाषाका बहुसंख्यक प्रयोक्ताको मनोभावनालाई उपेक्षा गर्दै नेपाली भाषाका सीमित स्वनामधन्य भाषविज्ञहरुले कोठेभेला गरी जबर्जस्ती लाद्न खोजिएको वर्णविन्यासका कथित परिवर्तीत नियमअनुरुप नयाँ पाठ्यपुस्तकको संरचना तयार पारिएको रहेछ ।

जहां चलनचल्तीको नियमानुसार लेखिने पुरा, फूल, बीच, हिन्दु, दूध, तीन, तीस, ठीक, सीप, ठूलो जस्ता शब्दलाई ह्रस्वीकरण गरी क्रमशः बिच, हिन्दु, दुध, तिन, तिस, ठिक, सिप, ठुलो बनाइएको छ । पुस्तकमा विद्युत, रद्दी, समृद्ध, खुट्टा, पट्टि, लठ्ठ, उद्योग, छुट्टै, महत्व, तत्व, शुद्ध, श्रद्धा, विद्यालय, विद्यार्थी, बुद्धिमान, सिद्धिनुजस्ता संयुक्ताक्षर प्रयोग भएका शब्दलाई चलनचल्तीको लेखन परम्पराविरुद्ध विद्युत, रदी, समृद्ध, खुट्टा, पट्टि, लट्ठ, उद्योग बनाइएको छ ।

जुन विद्यार्थीको स्तर सुहाउंदो देखिदैन । शब्दमा प्रयुक्त संयुक्ताक्षर भर्खरै अक्षारम्भ गरेका विद्यार्थीलाई टुक्र्याएर देखाउनु समुचित हुन्छ, तर संयुक्ताक्षरकै स्वरुपमा शब्दहरु सजिलै पढ्न र लेख्न अभ्यस्त भईसकेका ठुला कक्षामा संयुक्ताक्षरलाई नयां संरचनामा लेखिनु उनीहरुलाई थप दिग्भ्रमित र अन्योलमा पार्नुसिवाय हरु केहि होईन । स्थानको मितव्ययिता, प्राविधिक प्रविष्टिको सहजता, समयको सदुपयोग आदि कुनै पनि दृष्टिले यस किसिमको लेखन उपयुक्त हुन सक्दैन । यसबाहेक पनि पुस्तकामा विभिन्न शिर्षकका पाठमा समेत थुप्रै त्रुटि भेटिन्छन् ।

( कोईराला काञ्जीरोवा नेसनल स्कुलका नेपाली विषयका शिक्षक हुनुहुन्छ) ।

Comments

comments