प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्य निकायलाई जाजरकोटमा फैलिएको स्वाइन फ्लुको रोकथाम र उपचार युद्धस्तरमा गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कोइरालाले स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी,स्वास्थ्य तथा जनसंख्या सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्र उप्रेती र स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी महाशाखा प्रमुख डा.बाबुराम मरासिनी सहितको टोलीलाई प्रधानमन्त्री निबास बालुवाटारमा बोलाएर निर्देशन दिनुभएको हो । महामारी रोक्नका लागि विशेषज्ञहरुको टोली पठाउन निर्देशन दिदै प्रधानमन्त्री कोइरालाले थप मानवीय क्षति हुन नदिन आवश्यक सबै व्यवस्था मिलाउन समेत निर्देशन दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले स्वास्थ्यकर्मीहरु खटाइएको स्थानमा नजाने प्रबृत्तिले दुर्गम स्थानका नेपालीहरुले सामान्य उपचारयोग्य रोगबाटै असामयिक रुपमा जीवन गुमाउनु परेको उल्लेख गर्दै स्वास्थ्य मन्त्री सहितको टोलीलाई स्वास्थ्य जनशक्तिलाई खटाएको स्थानमा कार्यरत राख्ने उपयुक्त प्रबन्ध गर्न पनि निर्देशन दिनुभएको थियो ।

Comments

comments