एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले पहिचान सहितको जनताका अधिकार स्थापित गर्ने संविधान जारी गर्नका लागि आफुले संघर्ष गरिरहेको बताउनु भएको छ ।

आफुले प्रधानमन्त्री पदबाट राजीनमा नदिएको भन्दै अन्य दलहरुले सहयोग नगरेपछि संविधान निर्माणका लागि आफुले गैरराजनीतिक व्यक्ति खोजेर सहजीकरण मात्र गरेको उहाँको दावी छ ।

बुधबार काठमाण्डौमा आयोजना गरेको एक छलफल कार्यक्रममा नेता भट्टराईले आफूले प्रधानमन्त्री पदबाट राजीनामा नदिएर खिलराज रेग्मीलाई जिम्मेवारी मात्र हस्तान्तरण गरी विदा भएको बताउनुभएको हो । छलफल कार्यक्रममा उहाँले कसैले अहिलै नै यसबारे खोजे पनि नखोजे पनि इतिहासले अवश्य खोज्ने भन्दै आफुले राजीनामा नदिएको तर्क गर्नुभयो । ईतिहासले यसको सहि मूल्याङ्कन र समीक्षाबाट न्याय गरोस भन्ने आफ्नो अपेक्षा रहेको समेत उहाँको भनाई थियो ।

उहाँले इतिहासले जसरी मूल्याङ्कन गरेपनि आफूलाई स्वीकार्य भएको बताउदै तात्कालिन अवस्थामा सैन्य कूबाहेक अर्को माध्यमबाट कसैले आफुलाई हटाउन सक्ने माध्यम नभएको समेत दावी गर्नुभयो । कांग्रेस–एमालेले असहयोग गरेका कारण गैरराजनीतिक नेतृत्व खोजेर तात्कालिन प्रधानन्यायाधिस खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाउनुपरेको तर्क पनि नेता भट्टराईले गर्नुभयो । कार्यक्रममा डा. भट्टरईले चुनावी सरकारको स्मरण गर्दा राष्ट्रपतिप्रति आक्रोश समेत पोख्नुभयो । नेता भट्टराईले मुलुकमा नयाँ शक्तिको उदय अवश्यमभावी भएको दाबी दिनुभयो ।

Comments