अधिकांश राज्यहरुमा नेपालीहरुको उल्लेख्य बसोबास रहँदै आएको अष्ट्रेलियामा विभिन्न बहाना र अवसरहरुमा भव्य नेपाली कार्यक्रमहरु आयोजना हुदै आएको छ । यसैबीच मेलबर्नवासी नेपाली समुदायमा नेपाली नयाँ वर्ष २०७२ को चहलपहलले छोइसकेको छ । विदेशमा रहेर पनि मेलवर्नवासी नेपाली नयाँ वर्षको भव्य स्वागत गर्ने तयारीमा जुटेका छन् ।

संसारमा नेपालीको मात्र भनेर छुट्टै पहिचान बोकेको नेपाली नयाँ वर्ष विक्रम सम्वत २०७२ लाई भव्यताका साथ स्वागत गर्न मेलबर्न चहलपहलले वेलकम २०७२ वि.स. नामक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

अप्रिल १२ मा एडेन नाइटक्लबमा हुने वेलकम २०७२ वि.स.मा मम र छोइला जस्ता विशुद्ध नेपाली खानाका परिकारका साथमा नेपाली गीत संगीत सहितको डिजे प्रस्तुति रहनेछ । त्यसक्रममा सिड्नी र मेलबर्नका स्थानीय डिजेहरुरले आफ्नो प्रस्तुति दिने भएका छन् ।
कार्यक्रमको अर्को आकर्षणको रुपमा मिस्टर नेपाली छोरो र मिस नेपाली छोरी प्रतियोगीता रहनेछ । कार्यक्रममा सहभागी हुन आउँने दर्शकहरुमध्ये मौलिक नेपाली पहिरनमा सजिएर आएकाहरु यो प्रतियोगीताका लागि योग्य मानिने आयोजकले हिमालयन कंगारुलाई बताए । त्यसैले कार्यक्रममा आउँदा मौलिक नेपाली भेषभूषामा आउँन पनि आयोजकले आग्रह गरेको छ ।

Comments

comments