अहिलेसम्म देशको गहनाका रुपमा मात्र बुझ्दै आएको कलाकारहरु देशको अभिन्न अंग हुन् भन्ने नयाँ मान्यताहरु विस्तारै स्थापित हुँदै गएको छ । दर्शक र श्रोताको मन,मस्तिष्कमा सजिलै प्रभाव पार्न सक्ने हैसियत कसैमा छन् भने ती कलाकारमा मात्र छन् । त्यसैले कलाकारहरुलाई सद्भावना दूतका रुपमा पनि परिचालन गरिदै आएको छ ।

त्यसैक्रममा पछिल्ला वर्षहरुमा नेपाली समुदायको विश्वव्यापी पहुँचसँगै नेपाली गीत संगीतले पनि विस्तारै विश्वव्यापीकरण हुने मौका र वातावरण बन्दै गएको छ । भलै त्यो अहिलेलाई नेपाली समुदायकाबीचमा मात्र किन सीमित नहोऊन् । यसले एकातिर कलाकारितामा अमूल्य समय,पैसा र जीवन नै खर्च गरिरहेका नेपाली कलाकारहरुको जीवनयापनका लागि थोरै भए पनि राहत दिन्छ । तर त्यो भन्दा धेरै चाहिं कलाकार र उनीहरुका माध्यमबाट नेपालीपन र नेपाली भावनाहरु पनि विश्वका विभिन्न कुना कन्दरासम्म पुग्न पाइरहेको छ । यसबाट तत्काललाई त्यस्तो ठोस् उपलब्धी केही नदेखिए पनि कालान्तरमा यसले नेपाली राष्ट्रियता र पहिचानका क्षेत्रमा महत्वपूर्ण अर्थ राख्नेमा कुनै द्विविधा छैन ।

आज नेपथ्य समूह जस्ता नेपाली कलाकारहरु जहाँ जहाँ पुगिरहेका छन्–उनीहरु सँगै सुन्दर शान्त नेपाल भन्ने नेपालीको चाहना र भावनाहरु पनि पुगिरहेका छन् ।  कोमल वलीहरुको माध्यमबाट नेपाली माटोमा सिर्जिएका मौलिक नेपाली गीतहरुले नेपालको अनुपम पहिचान दर्शक र श्रोता माझ स्थापित भइरहेको छ भने ईन्दिरा जोशीहरुको माध्यमबाट नेपालीहरुको युगीन प्रतिभाको दस्तावेजहरु पुगिरहेका छन् । यसले एकातिर देशको पहिचान भुल्न लागेका नेपालीहरुलाई पुनः आफू नेपाली हुनुको बोध गराइदिनेछ भने अर्कोतर्फ नेपाललाई सुनेका तर विस्तृतमा थाहा नपाएका दर्शक श्रोताहरुको मानसपटलमा नेपालप्रतिको सकारात्मक छवि निर्माण भइरहेको छ ।

तर यति भनिरहँदा पछिल्लो समयमा केही नेपाली कलाकारहरुमा गलत बुझाई र विचलनहरु पनि देखा पर्न थालेका छन् । उनीहरुका भद्दा र अश्लिल क्रियाकलापले नेपाली कला संस्कृति र मान्यता मात्र होइन सिंगो मुलुककै बेइज्जती समेत हुने गम्भीर खतरा रहन्छ । त्यसैले यसतर्फ भने विदेशमा त्यस्ता कलाकारहरुलाई लिएर कार्यक्रम गर्ने आयोजकहरु सचेत बन्नुपर्ने वेला आइसकेको छ ।

(हिमालयन कङ्गारुको साप्ताहिक प्रकाशन विकइण्डरको अप्रिल ३ अंकको सम्पादकीय)

Comments

comments