राष्ट्रिय लिग फुटबल प्रतियोगिताको खेल भोलिदेखि पुनः सञ्चालन हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताअन्तर्गत भोलि शुक्रबार अपराह्न ३ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल प्रहरी क्लबले झापा फुटबल क्लबको सामना गर्नेछ । प्रतियोगितामा यसअघि समान १–१ खेल खेलेका दुवै टोली हार व्यहोर्दै अङ्कविहीन छन् । यसअघि दुई खेल खेलेको थ्रिस्टार क्लब छ अङ्कका साथ लिगको शीर्षस्थानमा तथा समान खेल खेलेको मनाङ मस्र्याङ्दी क्लब ६ अङ्कका साथ गोल अन्तरका आधारमा लिगको दोस्रो स्थानमा छन् ।

त्यस्तै सशस्त्र प्रहरी बल एपिएफ ४ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा तथा समान अङ्क नै जोडेको नेपाल आर्मी क्लब गोलअन्तरका आधारमा चौथो स्थानमा छन् । दुई खेल खेलेको लुम्बिनी फुटबल क्लब भने एक खेलमा हार तथा एक खेलमा जित हासिल गर्दै लिगको पाँचौँ स्थानमा छ । लुम्बिनीको तीन अङ्क छ ।

प्रतियोगितामा दुई खेल खेलेको मोरङ फुटबल क्लब र कैलाली फुटबल क्लब दुवै खेलमा हार व्यहोर्दै अङ्कविहीन छन् । होम एन्ड अवेका आधारमा भएको सो प्रतियोगिताको खेल काठमाडौँ उपत्यकामा मात्र नभई बाहिर कैलाली, रुपन्देही, झापा र मोरङमा पनि सञ्चालन गरिने एन्फाले जनाएको छ ।

Comments

comments