विगत दुई दशकदेखि नेपाली संगीत क्षेत्रमा निरन्तर समर्पित सांगीतिक समूह नेपथ्यका सदस्यहरु अष्ट्रेलिया आइपुगेका छन् । यो अप्रिल महिनाभरि अष्ट्रेलियाका विभिन्न राज्यमा हुने कन्सर्टको प्रस्तुतिका लागि गायक अमृत गुरुङ नेतृत्वको नेपथ्य टोली अष्ट्रेलिया आइपुगेका हुन् । यतिखेर आफूहरु पर्थमा रहेको नेपथ्यको आधिकारिक फेसबुक पेजमार्फत आफ्नो फोटो सार्वजनिक गर्दै गायक गुरुङले जानकारी दिएका छन् ।

मौलिक नेपाली लोक भाकाहरुलाई आधुनिक शैलीमा पस्कने समूहका रुपमा स्थापित नेपथ्य समूहले विगत डेढ दशकदेखि शिक्षाका लागि संगीत यात्रा मार्फत गरिबीका कारण शिक्षाबाट बञ्चित बालबालिकाहरुलाई शिक्षाको अवसर समेत प्रदान गर्दै आएको छ । यस्तै देशमा सशस्त्र द्धन्द्ध चलिरहँदा यो समूहले देशका विभिन्न स्थानहरुमा पुगी शान्तिका लागि सगीत अभियान चलाएको थियो ।
म्याग्दी सेवा समितिको आयोजनामा नेपथ्य व्याण्डको अष्ट्रेलिया टुर २०१५ हुन लागेको हो । कन्सर्टको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

नेपथ्यको अष्ट्रेलिया टुर अन्तर्गत यसपटकको पहिलो कन्सर्ट पर्थमा अप्रिल ४ तारिखमा हुँदैछ भने दोस्रो कन्सर्ट अप्रिल ११ तारिखमा सिड्नीमा हुनेछ ।

Nepathya

यसैगरी २६ तारिखसम्म ब्रिसबेन हुँदै मेलबर्नमा कन्सर्ट गरेपछि यो नेपथ्य अष्ट्रेलिया टूर सम्पन्न हुने कार्यक्रम संयोजक दिपेश पुनले जानकारी दिनुभयो । सिड्नीको लुना पार्कमा आयोजना गरिने कन्सर्ट तीन हजार दर्शक क्षमता रहेको बिग टप अडिटोरियममा हुनेछ । कार्यक्रमको सुरक्षा र व्यवस्थापनको लागि मात्रै ३० जना सुरक्षाकर्मी खटिनेछन् ।

अन्तर्राष्ट्रियस्तरका गायक, कलाकारहरुले मात्र आफ्नो प्रस्तुति दिने यस अडिटोरियममा पहिलो पटक नेपाली कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिन लागिएको हो । नेपथ्य यतिबेला आफ्नो नयाँ एल्बमको तयारीमा समेत रहेको छ । त्यसैले सम्भावतः सिड्नीमा हुने कन्सर्टकै बेला नेपथ्यले आफ्नो नयाँ एल्बम रिलिज गर्नेछ । तर यसबारेमा नेपथ्यले आधिकारिक रुपमा केही बताएको छैन ।

यति फुटबल क्लबको स्थानीय आयोजनामा हुन लागेको नेपथ्यको कन्सर्ट मेलबर्नमा भने यही अप्रिल २६ का लागि तय भएको छ ।  

Comments

comments