नेपालमा गत साता रिलिज भएको नेपाली चलचित्र भुलभुलैयाको अष्ट्रेलियामा पनि प्रदर्शन गरिएको छ ।

त्रिकोणात्मक प्रेममकथामा आधारित चलचित्र भुलभुलैयाको पहिलो प्रदर्शनीमा अष्ट्रेलियामा पनि उल्लेख्य दर्शकहरुको उपस्थिति थियो । प्रेम भुलभुलैया मात्र होइन यो त्याग र बलिदान समेत हो भन्ने सन्देश दिइएको उक्त चलचित्रलाई अष्ट्रेलियाका दर्शकले अत्यधिक मन पराएका छन् ।

दुई सडक बालकको मित्रता, आपसी सम्बन्ध र उनीहरुले माया गरेकी एउटी युवतीका बीचमा घुमेको चलचित्रमा समाजका अन्य बिषयवस्तुहरुलाई समेत चलचित्रले राम्ररी उठान गरेको छ । योगेश घिमिरेले निर्देशन गरेको यस चलचित्रमा जीवन लुर्इंटेल, सोहित मानन्धर, नीता ढुङ्गानाको मुख्य भूमिका रहेको छ भने लक्ष्मी गिरी, मोहन निरौला र देशभक्त खनालले समेत अभिनय गरेका छन् ।

अष्ट्रेलियाको सिड्नीस्थित प्रतिष्ठित चलचित्रघर इभेन्ट सिनेमामा देखाइएको उक्त चलचित्रको पहिलो शोमा नेपालबाट कार्यक्रमको सिलसिलामा अष्ट्रेलिया आएका कलाकार दीपकराज गिरी र दीपाश्री निरौला समेत उपस्थित थिए ।
उक्त चलचित्र अष्ट्रेलियाका विभिन्न शहरहरुमा कम्तिमा १० शो प्रदर्शन गरिने चलचित्रका निर्मँता दिनेशकुमार पोखरेलले जानकारी दिए । उनले चलचित्रलाई मेलबर्न, ब्रिसबन, पर्थ लगायतका शहरहरुमा समेत छिट्टै प्रदर्शनमा ल्याइने जानकारी दिंदै सिड्नीमा दर्शकहरुको माग अनुसार थप तीन शो आयोजना गर्न लागिएको बताए ।

Comments

comments