मनोरञ्जन क्षेत्रमा कतिखेर के चल्छ भन्ने कुनै ठेगान नै हुदैन । जस्तो यही चैत्र २७ गतेदेखि प्रदर्शन गर्ने तय भएको नेपाली चलचित्र रेशम फिलिलिको जालमा बोलको गीत यति धेरै भाइरल नै बनेर हिट होला भनेर न यस चलचित्रका निर्माता तथा नायक विनय श्रेष्ठले सोचेका थिए न त गीतका संगीतकार तथा गायक कालिप्रसाद बाँस्कोटाले । तर अहिले यो गीत यति भाइरल बनेको छ कि हरेकको मोबाइल,कम्प्युटरमा यही गीतले स्थान पाएको छ भने कतिले त यसलाई कभर गीत भर्सनको रुपमा युट्युबमा अप्लोड समेत गरेका छन् ।

त्यहीबीच अष्ट्रेलियाका केही युवायुवती मिलेर बनाएको रेशम फिलीलीको यही गीत जालैमाको भिडियो अहिले भाइरल बनेको छ । दुई दिनअघि मात्र युट्युबमा अपलोड गरिएको उक्त भिडियो अहिलेसम्म १ लाख ७५ हजारले हेरिसकेका छन् ।

अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली युवाहरु मिलेर निर्माण द नेक्स्टले निर्माण गरेको उक्त भिडियो ५ मिनेटको छ । सो भिडियोमा उक्त गीतमा दुई भिन्न स्थानमा नृत्य गरिएको देखाइएको छ । आधुनिक, हिपहप र लोकलय मिलाएर गरिएको नृत्यको भिडियो अपलोड गरेको २४ घण्टामा एक लाख २० हजारले हेरेका थिए । उक्त भिडियोमा यहाँका नेपाली युवायुवतीहरु सुरक्षा थापा, प्रदीप लामा, अमित बज्राचार्य, साजिया मिया, प्रभा दवाडीले नृत्य गरेका छन् ।

आफूहरुले यो भिडियो आफ्नो मनोरञ्जनका लागि बनाएका भए पनि भिडियो आएपछि आफुहरुलाई सबैतिरबाट राम्रो रेष्पोन्स आएकोमा उक्त नृत्यको कोरियोग्राफी समेत गरेका प्रदीप लामाले प्रसन्नता व्यक्त गरे । यसले आफूहरुको अझ हौसला बढेको उनले बताए । अष्ट्रेलियाका स्थानीय कार्यक्रमहरुमा कहिलेकाँही नृत्य देखाउने गरेका उनीहरुले यो गीतमा नेपालीपन भएका कारण यस गीतमा भिडियो बनाएको बताए । यो भिडियोले सफलता पाएपछि यस्तै किसिमको अन्य भिडियोहरु निर्माणको योजना बनाइरहेको समेत उनले सुनाए ।

सिड्नीको पर्यटकीय क्षेत्र ओलम्पिक पार्कमा निर्माण गरिएको उक्त भिडियोलाई आशिक रेग्मीले खिचेका हुन् । नेपालीले यसरी निर्माण गरेको भिडियो छोटो समयमा नै भाइरल बनेको यो नै पहिलो भएको उनीहरुको दाबी छ ।

यसअघि बैंककका नेपाली युवा युवतीहरुले पनि यही गीतको भिडियो बनाएर अपलोड गरेका थिए । यसरी यूट्युबमा भाइरल बनिरहेको यो गीतको असली भिडियो र पूरै गीत भने अहिलेसम्म सार्वजनिक गरिसकेको छैन । गीतले पाएको लोकप्रियताले निर्माण पक्षलाई यति दबाब दियो कि निर्माता विनय श्रेष्ठले यस गीतको फेरि भिडियो शुट गर्नुपर्यो ।

https://www.youtube.com/watch?v=sQsYxQ6hnKc

Comments

comments