‘तु’- तुरीय अवस्था ज्ञानको प्रतीक राम, ‘ल’को अर्थ लकारादि लक्ष्मण वैराग्यको प्रतीक पञ्चतत्वत्को ‘शरीर’ हो । ‘सी’को अर्थ मानव हृदय भावनाको प्रतीक भक्तिसीता हो । यसैले ‘तुलसी’को शाब्दिक विश्लेषण हुन आउछ – ज्ञान, वैराग्य भक्ति र भक्तिको प्रतीक मानव जीवन। ज्ञान, वैराग्य र भक्तिको अजस्र केन्द्रबिन्दु मानव जीवनले प्राप्त गरेको विज्ञान समर्पण भावमा परिणत गराई सहीरूपमा प्रयोगको अर्थ नै ‘तुलसी’को शाब्दिक अर्थ हुनआउँछ।

ब्रहृमवैवर्त पुराण अनुसार तुलसीका प्रसिद्ध आठ नामहरू- वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी हुन् । प्रत्येक नामका पछाडि नामले दिने अर्थ पनि रहेको छ, जसमध्ये विश्वपूजिता र विश्वपावनीको अर्थ हुन्छ- सबैबाट पूजित र सबैको लागि हितकारी वनस्पतिमध्ये तुलसी, श्रीखण्ड, कुश, आदिको वर्णन स्वयं देवताहरू पनि गर्न सक्तैनन् । आयुर्वेद विज्ञानमा पनि यो वनस्पतिको विशिष्टस्थान रहेको छ। भारतिय उपमहाद्दिपमा यसको दुई प्रजाति उल्लेख्य रहेको छ| ‘राम’ र ‘श्याम’। यी दुई मध्य राम हरियो र ठुलो पात भएको हुन्छ र श्याम हलुका कालो रङ्गको हुन्छ । दुबै प्रजातिलाई भगवान विष्णुको अर्धाङ्गिनि महालक्ष्मीको रुपमा पुजिने भएता पनि श्याम तुलसीलाई विशिष्ट मानिन्छ।

चिकित्सामा तुलसी
चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ । मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसागै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ । तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् र दीर्घरोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन् ।

बिहानै तुलसीको पूजनले, तुलसीसागको सम्पर्कले मानव जीवन निरोगी बन्छ भने तुलसीको समिश्रणको खाद्यपदार्थहरूको सेवन गर्दा मानिसले दीर्घजीवन प्राप्त गर्न सक्छ भन्ने कथन छ। यहासम्म कि तुलसी एउटा महाऔषधि भएकाले मृत्युका मुखमा परेका बिरामीहरूलाई पनि घाटका चिकित्सकहरूले मुखमा तुलसी राखिदिन प्रेरणा दिन्छन् । मृत्युपश्चात् पुनः देह निर्माणको प्रतीकस्वरूप पिण्ड, श्राद्वादि कार्य र दिवङ्गत पितृहरूले आफन्तहरूबाट प्राप्त गर्ने खानाको विश्वास स्वयं दिइएको पिण्डमा तुलसीको मञ्जरी राख्ने गरिन्छ भने देवकार्यमा अर्पण गरिने नैवेद्यहरूमा तुलसी नराख्दा विषाक्त र जूठोरूपमा लिइन्छ । अघिपछि दैनिकी हाम्रा खाद्य पदार्थहरूमा पनि तुलसीको प्रयोग गरी निर्विषाक्त पार्ने प्रयास गरिएको हुन्छ । विभिन्न कारणबाट खानाका पदार्थहरू जमिनदेखि नै विषाक्त बनेका हुन्छन् भने तिनको भण्डारणदेखि भान्छासम्म मन, वचन र मानिसको क्रोध, आवेग, तनावका कारण पनि खानेकुराहरू विषाक्त बनिरहेका हुन्छन् । तिनलाई निर्विषाक्त बनाउने एक मात्र सजिलो उपाय तुलसीको प्रयोग पनि हो । यसरी हाम्रो जीवनको प्रत्येक क्षणमा तुलसी जीवनसाथी नै बनेको छ । तुलसीले अजीर्ण, अरुचि र उदरशूलजस्ता सामान्य र मुटु, मृगौलाजस्ता असामान्य रोग हरण गर्ने क्षमता राख्ने भएकाले पनि तुलसी र मानव जीवनमा अन्तरसम्बन्ध बढ्न गएको हो । हालै भारतमा भएको एक परीक्षणबाट तुलसीमा क्यान्सरजस्तो भयङ्कर रोगसाग लड्ने क्षमता भएको कुरा पुष्टिभएको छ ।

धार्मिक महत्त्व

शास्त्रहरूको मत छ, जीव र जगत्का रक्षक नारायण छन्, उनलाई विष्णुको रूपमा पनि लिइन्छ । ब्रमाण्डको सृष्टि रचना गर्दा उनी ब्रहृमाको रूपमा स्थापित हुन्छन् भने जगतको सञ्चालनमा उनको स्वरूप [विष्णु]को हुन्छ । अघि सती नारी वृन्दाको श्रापका कारण उनै विष्णुले वनस्पति झार तुलसीको रूपमा परिणत भई उपरोक्त मानव जीवनमा रोग प्रतिरोधात्मक शक्तिका साथ आसीन भएको भन्ने तर्क पनि रहेको छ । तुलसी वृक्षकै रूपमा घरघरमा विष्णु स्थापित हुने र आषाढशुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिने र कार्तिक शुक्लमा तुलसीको बिहे उनै हरिसाग गराइसकेपछि स्वधाम गमनतर्फ जाने शास्त्रीय मत रहेको छ । सुतलमा भक्त वलिको रक्षार्थ हरिशयन गर्ने क्रममा पनि यसलाई जोडिएको पाइन्छ ।

सनातन हिन्दू धर्मभित्रका प्रत्येक संस्कारमा तुलसीको अभावमा कतिपय कार्यहरू सम्पादन हुन सक्दैन। वैज्ञानिक दृष्टिकोण र चिकित्साको क्षेत्रमा समेत तुलसीको उपादेयता प्रशस्त रहेको कुरामा शङ्का गर्ने ठाउँ छैन। मौसमी परिवर्तनबाट हुने रोगव्याधिबाट छुटकारा प्राप्त गर्न र खासगरी वर्षाको मौसममा खानेकुरामा तुलसीपत्र मिसाएर खाद्यपदार्थ ग्रहणमात्र गर्दा समेत रोगसित लड्ने सामर्थ्य प्राप्त हुने कुरा आयुर्वेदका विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ। तुलसी पत्रको सेवनबाट प्राप्त हुने केही लाभहरूलाई बुँदागत रूपमा यसरी समेट्न सकिन्छ –

१. तुलसी पत्रको रस बनाएर सेवन गर्दा कडा ज्वरोको प्रकोपलाई शान्त बनाउन सकिन्छ। ज्वरो र टाइफाइडबाट ग्रस्त बिमारीले प्रत्येक दुई वा तीन घण्टामा तुलसीको रस सेवन गर्दा रोगको प्रकोपबाट जोगिन सक्दछन्।

२. कतिपय आयुर्वेदिक कफ सिरपमा तुलसीपत्रको प्रयोग गरिएको हु्न्छ, आयुर्वैदिक स्वास्थ्य उपचारका क्रममा क्षयरोग (टी.बी.),ब्रोङ्काइटिस र दम(Asthma) जस्ता रोग निवारणका निमित्त पनि तुलसी लाभदायी औषधी हो भनिएको पाइन्छ।

३. तपाईं रुँघामर्की र सर्दीबाट पीडित हुनुहुन्छ भने केवल तुलसीका सादा पत्रहरूको सेवन गर्नुहोस्, तपाईंले पक्का स्वास्थ्यलाभ गर्नुहुन्छ।

४. विषालु कीरा, फट्याङ्ग्रा र सर्पको डँसाइबाट ग्रस्त व्यक्तिले तुलसी पत्रको रस, यसको फूल र जरा मिसाएर लेप बनाई घाउ वा डँसाइ भएको स्थानमा लगाउँदा विषको फैलावट हुने क्रम र डाहालाई शान्त बनाउन सक्नुहुन्छ र आफ्नो जीवनलाई लम्ब्याउन मद्दत पुग्छ।

५. तुलसीको तेलमा भिटामिन सी, प्रोटिन, क्याल्सियम र फोस्फोरस तत्त्वको मात्रा अत्यधिक रूपमा प्राप्त हुन्छ। त्यस्तै यस वनस्पतिमा एन्टीब्याक्टेरियल, एन्टीफङ्गल र एन्टीभाइरल गुणहरू पनि विद्यमान हुन्छन्।

६. मधुमेहका दीर्घरोगी हरूले पनि तुलसीको प्रयोग गरेर लाभ प्राप्त गर्न सक्दछन्। यस वनस्पतिले पाचन प्रक्रियालाई नियमित र बलियो तुल्याउन सघाउ पर्याउँछ।

७. तुलसीको तेललाई एन्टी मलेरियल औषधीका रूपमा प्रयोग गर्न पनि सकिन्छ। एन्टीबोडी तत्त्व हुनाले तुलसीले हाम्रो शरीरको इम्यूनिटी शक्तिलाई पनि बढाउँछ।

८. तुलसीको नियमित प्रयोग गर्नाले हाम्रो स्वास्थ्य र सौन्दर्यलाई सन्तुलित तुल्याउन समेत मद्दत गर्दछ।

तुलसीको सेवन गर्दा लाभ त हुन्छ तर आयुर्वेदका ज्ञाताहरू यसको बढी प्रयोग गर्दा यसबाट बेफाइदा समेत हुन्छ, किनभने तुलसीमा ऊष्मता हुन्छ। त्यसैले पुरूषहरूले दिनभरिमा १०/१२ वटाभन्दा धेरै तुलसीपत्रको सेवन गर्नु हुँदैन। हुन त महिलाका निमित्त तुलसीपत्र वरदान नै हो तर एक दिनमा पाँचवटा तुलसीपत्र उनीहरूका निमित्त पर्याप्त हुन्छ। तुलसीपत्रको सेवन गर्दा दूधको तर वा दहीका साथमा गर्नाले यसको प्रभाव सन्तुलित हुनपुग्छ। हुन त यस वनस्पतिले अर्थराइटिस, एलर्जी, मेलिग्नोमा, मधुमेह, भाइरल आदि रोगमा लाभदायक हुन्छ, तर गर्भावस्थाको समयमा यसको बढी प्रयोग गर्नु पटक्कै राम्रो हुँदैन। यद्यपि गर्भावस्थाको समयावधिमा दुखाइ बढ्यो भने तुलसीपत्र र मिस्री मिसाएर काढा बनाएर फाइदा लिन सकिन्छ। यसरी काढा बनाउँदा तुलसी पत्रलाई रातभरि पानीमा भिजाएर भोलिपल्ट बिहान त्यसलाई मिस्री मिसाएर पकाउनु पर्छ। कुनै नारीको स्तनमा गाँठागुठी पलाएमा वा दुखाइ भएमा समेत यस्तो काढा लाभदायी हुन्छ। यस्तो अवस्थामा बीस ग्राम तुलसीको रस र मकैको पातको मिसाएर, यसमा दस ग्राम अश्वगन्धा रस र दस ग्राम मह राखेर उमालेर खाँदा राम्रो हुन्छ। तुलसीपत्रको प्रयोगबाट फाइदा र बेफाइदा दुबै हुने भएकाले खासगरी महिला र केटाकेटीले यसको विशेष प्रयोग गर्दा चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।

युगौयुगदेखि तुलसीको महत्ता कायमै छ । सत्ययुगदेखि नै मानव जीवनको अभिन्न अङ्ग बनेको तुलसीलाई त्रेतायुगमा रामको नामले यसलाई ज्ञानको प्रतीक मानियो भने त्रेतायुगमा भक्तिरूपी सीताको अभावमा चित्रकुटमा रामले आफ्नो आसुले तुलसीको सिञ्चन गर्नुभयो । द्वापर युगमा तुलसी सत्यभामाकी जीवन सङ्गनि नै बनिन् | कृष्णप्रियासमेत भई गोलोकमा राधिकाको नामले तुलसीलाई पुकारियो । वृन्दावन पूरै तुलसीको वनले ढाकिएको क्षेत्र हो । तुलसी वनलाई नै वृन्दावन भनिन्छ । वृन्दावन पुग्दा मन हषिर्त र आनन्दित हुने कारण तुलसीको वास्ना नै हो । मन हषिर्त र प्रफुल्लित भएपछि नै जीवन धन्य बन्छ र जीवनोपयोगी र सामाजिक मर्यादाअनुकूलको काम सम्पन्न हुनपुग्छ । सुकेको झारको रूपमा समेत उत्तिकै उपयोगी भएको तुलसीको रोपण, पूजन, यजन, चिन्तन र मनन् हर मानवका लागि उपयोग सिद्ध भएको छ । ( साभार: साझा संस्कृति )

Comments

comments