(-सेतोपाटीका लागि निरु त्रिपाठीले तयार पर्नु भएको लेखबाट साभार)

timthumb

(तस्विर:सेतोपाटी )

ओक्लि  भनिला क्याफे। सेवाभन्दा म १५ मिनेटअघि नै पुगिसकेकी थिएँ। साँझको चिसो हावामा कफीको चुस्की लिँदै सेवाको प्रतिक्षामा थिएँ। सेवाले फोन गरिन्- म क्याफेमा आएँ, हजुर कहाँ हुनुहुन्छ?

कालो ड्रेसमा आएकी सेवालाई मैले चिनिहालेँ। हामी क्याफेको माथिल्लो तल्लामा फेरि अर्को दुई वटा क्यापुचिनो र ब्लाक फरेस्ट मगाएर गयौँ। यसो हेर्दा सेवालाई लेट ट्वान्टिज्‌को कसैले पनि भन्दैन किनकि उनको छरितो ज्यान र कलिलै देखिने अनुहारले उनको वास्तविक उमेर सहजै ढाकिदिन्छ।

उनको काम जति सुन्दर थियो, त्योभन्दा पनि बढी राम्रो उनको स्वभाव थियो। सेवाको तारिफ गर्दै गरिएका केही प्रश्नसँगै म उनीमा अक्सर मानिसमा सफलता पाएपछि उम्रने त्यो घमण्ड, अहम् खोज्दै थिएँ। तर, लगभग दुई घण्टाको गफगाफमा मैले उनीमा रत्तिभर पनि घमण्ड भेटिनँ। उनीजस्ती देखिन्थिन्, त्यस्तै प्रस्तुत भइन्। न घुमाउरो उत्तर दिइन्, न त वनावटी कुरा नै गरिन्।

‘म पनि सामान्य मान्छे नै हुँ। मैलेजस्तो काम अरुले पनि गर्न सक्छन् तर केही सातादेखि मेरो बारेमा आएका समाचारले जुन चर्चा बटुलेको छ। त्यो कुराले म आफैँ अचम्ममा छु। किनकि मैले त अरु मान्छेले जस्तै आफ्नो कामको रिजल्ट पो देखाएकी हुँ,’ उनलाई बधाई दिँदै पहिलो प्रश्न तेर्साउँदा उनी यसरी पारदर्शी भएकी थिइन्। उनको सरलता उनकै शब्दमा यसरी पोखिएको थियो।

मैले अनुमान गरिरहेकी थिएँ- उनी पिएचडी गर्न आएको भर्खरै चार-पाँच वर्ष भयो होला। प्रश्न गरिहालेँ, ‘पिएचडी गर्न आउनुभएको कति वर्ष भयो?’

उनले अलि लज्जासहित मुस्कुराउँदै भनिन्, ‘म त अस्ट्रेलिया आएको १० वर्ष जति हुन लाग्यो।’

प्सल टु दिएर सिधैँ यहाँ आएकोभन्दा पो म अझ् छक्क परेँ। १० वर्षसम्म पनि यस्तो प्रतिभा कसरी गुमनाम बसेको भन्ने लागिरह्यो। तर, मान्छेको स्वभाव हो, कसैलाई देखिएर काम गर्न मन लाग्छ। कोही लुकेर नै आफूलाई तिखारिरहेका हुन्छन्। सेवा पनि त्यही लुकेर आफूलाई तिर्खारिरहेकोमा परिन्।

२००४ सालमा बुढानीलकण्ठबाट ए लेभल सकेर मोनाशमा ब्याचलर इन बायो मेडिकल साइन्स पढ्न उनी अस्ट्रेलिया आइन्। बुढानीलकण्ठमा उनी सामान्य विद्यार्थीमै गनिन्थिन्। महँगो मोनाश कलेजमा उनी छात्रावृत्तिबिनै पढ्न आएकी थिइन्। दिदीहरू यतै भएकाले उनलाई अरु देशभन्दा अस्ट्रेलिया आउन सजिलो भयो।

यहाँ आएपछिको पहिलो वर्ष उनी एउटा क्याफेमा वेटरको काम गर्थिन्। तर, अर्को वर्षदेखि पढाइ र असाइन्मेन्टहरू राम्रो देखेपछि कलेजले नै कलेजको रिसर्च ल्याबमा उनलाई पार्टटाइम काम मिलाइदियो। उनले त्यही ल्याबमा काम गर्दै पढ्न थालिन्। अहिले उनी पिएचडीको थेसिस बुझाएर बसेकी छिन्। उनी यसका लागि सुपरभाइजर एनड्रु वेईप्रति एकदमै कृतज्ञ छिन्।

‘सुपरभाइजरको मप्रतिको विश्वास र मेरो रिसर्चप्रतिको लगावले नै हामीले ‘प्रोटिन आइएनपिपी फोरबी’नामक प्रोटिन ल्युकेमियाका बिरामीमा पाइने जिन पत्ता लगायौँ,’ उनले भनिन्, ‘जुन क्यान्सरको उपचारमा महत्त्वपूर्ण हुनेछ।’

जिन पत्ता लागेर एक प्रतिशत मात्रै काम सकिएको छ। ‘अझ धेरै काम र रिसर्च त गर्न बाँकी नै छ,’ उनले सुनाइन्।

उनलाई पढाइको सिलसिलामा अथवा रिसर्चलाई निरन्तता दिन अन्य विभिन्न देश जान मन छ। जतिधेरै देशका वैज्ञानिकहरूसँग काम गर्‍यो, त्यति धेरै अनुभव बटुलिने र आफू पनि परिपक्क हुने उनको धारणा छ। अस्ट्रेलियाको विभिन्न क्षेत्रबाट जागिरको अफर पनि आइरहेको छ। तर, उनलाई अझ एकदुई वर्ष रिसर्चमै समय बिताउन मन छ।

‘धेरै देशहरूबाट अनुभव लिइसकेपछि नेपाल गएर नेपालीको सेवा गर्ने मन छ,’ उनले आफ्नो चाहना प्रकट गरिन्।

अहिले पनि नेपालका डाक्टरहरूले सम्पर्क गरे, नेपाल गएर क्यान्सरको रिसर्चमा सहयोग गर्न, फन्ड रेजिङ, रिसर्चलाई चाहिने प्राविधिक सहायताजस्ता कुरामा सहयोग गर्ने चाहना रहेको उनले बताइन्।

कुनै पनि विद्यार्थीले एसएलसी र प्लस टु पढ्दैमा पढाइको योग्यता पुग्नेमा उनी विश्वास राख्दिनन्। ‘नयाँ कुरा जान्न, धेरै कुराको अनुभव लिन पनि एक विद्यार्थी युनिभर्सिटीसम्म जानै पर्छ,’ उनी भन्छिन्, ‘पढाइ र ज्ञानबाट जति परिवर्तन आउँछ, सायद अरुबाट त्यति आउँदैन।’

उनी भन्छिन्- कसैको क्षमता तीन घन्टाको परीक्षाले निर्णय गर्ने कुरा होइन। कुनै पनि व्यक्ति पास हुनका लागि मात्रै पढ्छ भने त्यस्तो व्यक्तिमा कुनै पनि कुराको सार बुझ्ने चेतना हुँदैन। जीवनमा धेरै परीक्षा हुन्छन्, ती सबै परीक्षामा उर्त्तीण हुन व्यक्तिले आफ्नो आत्माबल र संघर्षमा लड्ने प्रण लिनुपर्छ।

‘कर्म गर्दै जाऊ, फलको आशा नगर’ भन्नेमा उनको अटुट विश्वास छ। यही प्रसंग जोड्दै उनी भन्छिन्- सायद ममा धैर्यता र उत्तिनैखेर फलको आशा गरेकी भए, आज यो जिन पत्ता लगाउन मलाई गाह्रो पर्थ्यो।

सेवाको पारिवारिक पृष्ठभूमि

कुराकानीकै क्रममा उनको पारिवारिक र निजी जिन्दगी कोट्याउन मन लाग्यो। आफ्नो काम र रिसर्चले अहिले उनले छुट्टै पहिचान बनाइसकेकी छिन्। कुराकानीपछि मात्रै थाहा भए पनि उनको पारिवारिक पृष्ठभूमि पनि कम परिचित छैन।

‘ऋतुहरूमा तिमी, हरियाली वसन्त हौँ …’, ‘प्रतीक्षा गर मेरी मायालु, समयले मानिसलाई कहाँ-कहाँ पुर्‍याउँछ….’ जस्ता कालजयी गीतका रचनाकार राजेन्द्र रिजालकी छोरी हुन् सेवा। उनकी आमा प्रभा रिजालको पनि नेपालमा फ्रुट क्यानिङ व्यवसायमा विशिष्ठ पहिचान छ।

नेपालको पहिलो महिला प्रिन्सपल अंगुरबाबा जोशीकी नातिनी र पञ्चायतकालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालकी नातिनी पनि हुन् सेवा।

‘मेरो घरमा नारी र पुरुष बराबर छन्। त्यसैले चाहे भने महिला पनि पुरुष जत्तिकै काम गर्न सक्छन्। मेरो धारणा पनि महिला र पुरुषले समान शिक्षा पाऊन् भन्ने हो,’ उनले भनिन्।

सेवा अहिलेसम्मको सबै सफलताको श्रेय आमाबुवालाई दिन्छिन्- आज म जे जति छु, आमाबुबा, दिदीभाइ, हजूरआमा र आफन्तहरूको मप्रतिको विश्वासले नै हो।

सामाजिक सञ्जालहरूबाट अलि टाढा नै रहन रुचाउने उनी आफूलाई अन्तर्मुखी स्वभावको मान्छिन्। आफूमा आमा-बुबाको दुवै गुण रहेको बताउने सेवा रिसर्चको कामबाट फुर्सद मिल्यो भने बरु बुबाले लेखेका गीत गुनगुनाउँछिन्, बेलाबेलामा आफैँ कविता पनि लेख्छिन्।

कुराकानीमा बिहेको प्रसंग पनि निस्क्यो। ‘आफ्नो परिवार र पढाइसँग रमाउँदारमाउँदै जीवनमा प्रेम र बिहेबारे बारेमा कहिल्यै सोच्नै भ्याइनँ,’ उनले भनिन्, ‘अबचाहिँ राइट टाइममा राइट मान्छे आयो भने बिहेबारे सोच्ने योजना छ।’

Comments

comments