चालू विश्वकप क्रिकेटको सेमी फाइनल चरणका खेलहरु मंगलबारबाट शुरु भएको छ । पहिलो सेमिफाइनलमा आयोजकमध्येको एक न्युजिल्यान्डले बलियो दक्षिण अफ्रिकासँग भिडिरहेको छ। दक्षिण अफ्रिका टस जितेर ब्‍याटिङमा उत्रिएको छ भने न्युजिल्यान्ड बलिङ गरिरहेको छ। दुवै टोली हालसम्म विश्वकपको सेमिफाइनलमा पुग्न सकेका छैनन्। त्यसैले जुन टिमले जिते पनि त्यो ऐतिहासिक हुने छ।

हालसम्म विश्वकपमा न्युजिल्यान्डले ६ पटक र दक्षिण अफ्रिकाले तीनपटक सेमिफाइनलको यात्रा तय गरेका छन्। तर फाइनलमा पुग्न भने यी दुवै टोली असफल भएका छन्।

न्युजिल्यान्डका प्रशिक्षक माइक हेसन दुवै टोली बलियो भएकाले यसै अनुमान गर्न नसकिने दाबी गर्छन्। उनले दुवै टोलीले उत्कृष्ट क्रिकेट खेलिरहेको पनि बताए। न्युजिल्यान्ड जारी विश्वकपमा हालसम्म आफूले खेलेका सबै खेल जित्ने दुईमध्ये एक टोली हो।

न्युजिल्यान्डले पाँच खेल दोस्रो ब्याटिङ गरेर जित्यो भने दुई खेलको नतिजालाई पहिला ब्याटिङ गरेर आफ्नो पक्षमा पार्‍यो। विश्वकपको पहिलो संस्करणमै सेमिफाइनलसम्म पुगेको न्युजिल्यान्ड फाइनल पुग्नका लागि भएको भिडन्तमा भने वेस्ट इन्डिजसँग पहिला ब्याटिङ गर्दै एक सय ५८ रनमा समेटियो र पछि पाँच विकेटले पराजित भएको थियो।

लगत्तै अर्को संस्करणमा पनि सेमिफाइनलमा पुगेको न्युजिल्यान्ड फाइनल भने पुग्न सकेन। सेमिफाइनलमा वेस्टइन्डिजसँग दुई सय २२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड दुई सय १२ रनमा समेटिएको थियो।

न्युजिल्यान्ड सन् १९९२ को विश्वकपमा पनि सेमिफाइनलमा पुगेको थियो । दक्षिण अफ्रिकाका कप्तान एबी डिभिलियर्स आफूहरूमाथि लाग्ने गरेको अभागीको धब्बालाई हटाउन कटिबद्ध रहेको बताउँछन्। उनले टिममा भएका केही कमजोरीलाई पनि सेमिफाइनलमा बाहिर आउन नदिने दाबी गरे।

दक्षिण अफ्रिकाले जारी विश्वकपको सेमिफाइनलसम्म आइपुग्ने क्रममा पाँच जित र दुई हारको नतिजा निकालेको छ। जारी विश्वकपमा दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै चार र दोस्रो ब्याटिङ गर्दै एक खेल जितेको छ।

दक्षिण अफ्रिकाले दुई खेलमा भने हार बेहोरेको थियो। ती दुवै खेलमा दक्षिण अफ्रिकाले विजयलक्ष्य पछ्याएको थियो। रंगभेदपूर्ण नीतिका कारण लामो समयसम्म अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढिएको दक्षिण अफ्रिका सन् १९९२ को विश्वकपमा पहिलो पटक सहभागी भएको थियो।

त्यति बेला दक्षिण अफ्रिका सेमिफाइनलसम्म पुगेको थियो। तर सेमिफाइनल खेलमा इङल्यान्डसँग दुई सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा २० रनले पराजित भएपछि फाइनलमा भने पुग्न सकेन।

सन् १९९९ को विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल ‘टाई’ भएपछि सुपर सिक्सको प्रदर्शनका आधारमा अस्ट्रेलियालाई विजेता घोषित गरिएको थियो। सन् २००७ को विश्वकपमा पनि दक्षिण अफ्रिका सेमिफाइनलसम्म पुगेको थियो।

Please follow and like us:

Comments