संगीतका विविध पक्षहरु छन् , आधुनिक संगीतमा यसको व्यापक विस्तार हुँदै गएको छ । संगीतमा विकास भएको अत्याधुनिक प्रविधिले संगीतको स्वादमा समेत आधुनिकता प्रदान गरेको छ । पछिल्लो समय नेपाली युवा पुस्तामाझ समेत प्रिय बन्दै गएको डिजेइंग र त्यसमा झुम्नेहरुको भिड बाक्लिंदै छ । नेपाल भित्र र बाहिर थुप्रै युवाहरु यसलाई पेशाकै रुपमा अंगालेर अघि बढेका पनि छन् । अष्ट्रेलियामा रहेर नेपाली समुदाय माझ छोटो समयमा नै सुपरचित हुन पुगेका डिजे सुशील सँगको हिमालयन कंगारु अन्तरंग कुराकानी यहाँ प्रस्तुत छ :

कला क्षेत्रमा रुची कसरि बढ्यो ?
सन् २००८ मा अष्ट्रेलिया आए पछि म नाइट क्लबमा काम गर्थें , जहाँ डिजे संगीतमा झुम्नेहरुको भिड देखेर छक्क पर्थें | केहि महिना बिते पछि म आफैमा डिजे बन्ने रहर पलायो । मैले डिजे गिअर किनें , युट्युबमा ट्युटोरिअलस् पढें, सन् २०११ मा पहिलो पटक मैले आफ्नो प्रस्तुति पनि दिएँ । सुरुमा मात्र रुचिको बिषय भए पनि हरेक दिन सिक्दै अघि बढ्दै जाँदा यसैलाई पेशा किन नबनाउने भन्ने सोच आयो । क्रमशः मैले आफ्ना रुचिलाई पेशामा बदल्नु पर्छ भन्ने लाग्यो |अहिले यसमै मेहेनत जारि नै छ ।

डिजे बने पछि तपाईंले अनुभब गर्नु भएको खुशी के हो ?

यो क्षेत्रमा लागे पछि मैले विशेषत धेरै अवसर पाएको छु । बिभिन्न पार्टीहरुमा डिजे गर्दै गर्दा त्यहाँ सहभागी हुन आउने धेरै चर्चित व्यक्तित्वहरु संग चिनजान भयो । नेपालबाट आउने धेरै कलाकारहरु सँग पनि भेटघाट हुने अवसर यसकै माध्यमबाट हुने गर्छ । सन् २०११ यता त प्राय नेपालबाट सांगीतिक कार्यक्रमहरुका लागि आउने गायकगायिक र अन्य कलाकारहरुलाई समेत आफ्नो डिजेमा नचाउन पाउँदा खुशी मिल्छ । म डिजेको हरेक बिट्स मा नयाँ गर्ने उत्प्रेरणा पाईरहन्छु, त्यसैले पनि म कहिल्यै हतास छैन खुशी नै छु ।

केहि गुमाउनु भए जस्तो लाग्छ ?
मैले गुमाएको छैन,बरु धेरै आर्जन पो गरें । विशेष गरि बिभिन्न आयोजक, कलाकार, दर्शक सहभागी, अनि अष्ट्रेलियामा रहने अधिकांश नेपाली समुदायका बीचमा निरन्तर हुने भेटघाट र चिनाजानीले सबैका सामु चिनिने मौका पाएको छु | उहाँहरु सँगै रमाउदै काम गर्न पाएको छु । हिजो आज नेपाली संगीतमा पनि आधुनिकता देखिएको छ । त्यहि आधुनिकता बीच डिजे पनि पर्दछ ।

परम्परागत आम धारणामा परिवर्तन हुनु पर्छ भन्ने कुरामा तपाईंको के विचार छ ?
नेपाली समुदायमा डिजे नौलो नै हो । यो पेशालाई अझै पनि राम्रो पेशाको रुपमा नेपाली समुदाय बीच बुझाउन सकिएको छैन । डिजे संगीतमा झुम्नेहरु नराम्रा मान्छेहरू हुन्छन् भन्ने आम धारणा गलत छ , यो परिवर्तन हुनुपर्छ । सबै पेशा क्षेत्रमा राम्रा मान्छे मात्रै त कहाँ छन् र कोहि असल भएनन् भन्दैमा यो पेशा नै नराम्रो ठानीहाल्नु उचित होइन । पेशालाई नै गलत भनिदिदा यसमा नै राम्रो गर्न चाहाने हामी जस्ता उत्साहिलाई भने असहज महसुस गराउँछ | नयाँ पुस्ताले यसप्रति सकारत्मक सोच विकास गर्नेछन् भन्ने अपेक्षा छ । म त्यहि सकारात्मक परिवर्तनको पर्खाइमा छु ।

परिवार अनि साथीहरु सँग कुन समयमा रमाउनु हुन्छ ?

डिजेइंग पछिको समय पक्कै पनि पारिवरिक र सामाजिक नै हुन्छ मेरो । फुर्सदमा परिवारसँग लंग ड्राइभ, साथीहरु संग बार्बीक्यु, पार्क, वीच अनि धेरै जसो समय प्लेस्टेसनमा फिफा खेलेर बित्ने गर्छ । तत्काल वा दीर्घकालीन योजना पनि छन् की ? अहिले नै मैले नयाँ रेस्टुरेन्ट सुरुवात गर्ने तयारीमा छु | व्यापारको यो नयाँ पाटो हुने छ ,सँगसँगै दीर्घकालीन रुपमा मेरो यो डिजे पेशा कै स्तर उन्नतिका लागि मैले सिक्नु छ । संगीत अध्ययन गर्दै संगीत उत्पादन क्षेत्रमा आफुलाई स्थपित गराउने संकल्प छ ।

तपाईका शुभचिन्तकहरुका निम्ति सार्वजनिक सन्देश ?
म अष्ट्रेलियामा रहनुहुने सबै नेपाली समुदाय, कार्यक्रम आयोजकहरु,मिडिया, साथीहरु, आफन्त परिवार, अरु सबै जो जति मेरा अडियन्स भइसक्नुभएको भएका सहभागीहरुमा तपाइँहरुले देखाउनु भएको सदभाव पार्टी आभार ब्यक्त गर्न चाहन्छु | मलाई सल्लाह र सुझाबको खाँचो छ, कतै भेन्यु मा भेट्नु हुँदा वा अनलाइन मार्फत प्रतिक्रिया दिनुहोला । तपाइको सहयोग जारी रहे, अवश्य सबैलाई डिजे संगीतमा नचाईरहने छु ।

Comments

comments