कोष्टारिकालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै नेदरल्याण्ड्स विश्वकप फुटबलको सेमिफाईनलमा पुगेको छ ।अतिरिक्त समयको पनि इन्जुरी समयमा मैदान छिरेका किपर टिम क्रुलले २ वटा पेनाल्टी बचाएपछि डच टोली अन्तिम चारमा पुग्यो । प्रिक्वाटर फाइनलमा ग्रीसलाई पेनाल्टी सुटआउटमा हराएको कोष्टारिका क्वाटरफाइनलमा भने नेदरल्याण्डसँग पराजित भयो । नेदरल्याण्डसले पेनाल्टी सुटआउटमा खेल जितेको यो पहिलो अवसर हो । 

प्रशिक्षक  लुइस भान गालले नियमित गोलकिपर जस्पर सिलिसेनलाई हटाएर टिम क्रुललाई पोष्टको जिम्मा दिएका थिए । र, उनको यो निर्णय नै सही सावित भयो ।   क्रुलले पोष्टको जिम्मेवारी सम्हालेको ४४ सेकेण्डपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । क्रुलले २ वटा पेनाल्टी बचाएपछि नेदरल्याण्डको इतिहासनै बदलियो |

footbal2

अर्जेन्टिना पनि आफ्नो इतिहास बदल्दै  विश्वकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबारराति भएको खेलमा बेल्जियमलाई १–० ले हराउँदै अर्जेन्टिना २४ वर्षपछि सेमिफाईनलमा प्रवेश गरेको हो । सन् १९९० पछि पहिलो पटक अर्जेन्टिनालाई सेमिफाईनलमा पुर्‍याउन गोञ्जालो हिग्वीनले गोल गरे । आठौं मिनेटमा हिग्वीनले गरेको एक मात्र गोलनै निर्णायक भयो । बेल्जियमका कप्तान भिन्सेन्ट कोम्पनीको खुट्टाबाट खोसेर एञ्जेल डि मारियाले निकालेको क्रस पासमा हिग्वीनले पेनाल्टी एरियाबाट वान टचमा बललाई जाली चुमाए । यसअघि १९८६ मा उपाधि जितेको अर्जेन्टिना सन् १९९० को फाईनलमा जर्मनीसँग हारेको थियो । त्यसयताका विश्वकपमा अर्जेन्टिना सेमिफाईनलमा पुगेकै थिएन् । ९० यता अर्जेन्टिना क्वार्टरफाईनलबाटै आउट हुँदै आएको थियो ।

Comments

comments