हिमालयन कङ्गारु विशेष । अष्ट्रेलियाको मेलबर्नमा जारी आइसिसि विश्वकप प्रतियोगीता अन्तर्गत विहीवार भएको बंगलादेश र भारतबीचको दोस्रो क्वार्टर फाइनल चलिरहँदा मैदानको दर्शकदीर्घबाट एक नेपालीलाई प्रहरीले पक्राउ गरी आफ्नो नियन्त्रणमा लिएको छ । गैर अवासीय नेपाली संघ अन्तराष्ट्रिय संयोजन समितिका कार्यकारिणी सदस्य तथा अप्रवासी श्रमिक संघका उपाध्यक्ष दीपा राई नेपालीलाई मेलबर्न प्रहरीले नियन्त्रणमा लिएको हो ।

टिकट काटेरै क्रिकेट म्याच हेर्न रंगशाला पुग्नुभएका राईले कतारमा कार्यरत अप्रवासी श्रमिकका मुद्दाका बारेमा एकताको आह्वान गर्दै ब्यानर प्रदर्शन गर्नुभएको थियो । उहाँले दर्शकको भीडबाटै गर्नुभएको व्यानर प्रदर्शनतर्फ त्यहाँ उपस्थित टेलिभिजनहरुमध्ये करिब २० वटाको ध्यानकर्षण भएको थियो । ती टेलिभिजनहरुले राईले प्रदर्शन गर्नुभएको युनाइटेड एगेन्स्ट स्लेभरी अफ माइग्रेन्ट वर्कर्स इन कतार लेखिएको ब्यानरसहितको दृश्य खिचेर प्रसारण गरेका थिए । त्यसपछि तुरुन्तै प्रहरीले उहाँलाई नियन्त्रणमा लिई ब्यानर प्रदर्शन गरेको अभियोगमा हिरासतमा राखेको थियो । उनलाई म्याच समाप्त नभइञ्जेल हिरासतमै राखेर म्याच सकिएसँगै छोडिदिएको थियो ।

घट्नालाई आफूलाई कुनै किसिमको हीनता नभएको प्रष्ट पार्नुहुँदै राईले कतार सरकारले फिफा विश्वकप २०२२ आयोजना गर्ने नाममा अन्तराष्ट्रिय श्रमिक र मजदुरहरुमाथि गरिरहेको ज्यादतीका विरुद्ध विश्व समुदायको ध्यानकर्षण गराउँन आफू सफल भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । आफ्नो यस अभियानमा केही भारतीय र बंगलादेशी मित्रहरुले पनि साथ दिएको भन्दै उहाँले आभार समेत व्यक्त गर्नुभयो ।

‘कतार सरकार फिफा विश्वकपको आयोजना गर्न पूर्ण रुपले असफल भैसकेको छ । त्यसैले विश्वकपको आयोजनाको उसको अधिकार खोसिनुपर्छ’,दीपाको तर्क छ । कतारले यो अवसरबाट बञ्चित हुनपरे विश्वकप आयोजनाको अधिकार अष्ट्रेलियाले पाउँने फिफाको नीतिमा उल्लेख छ । त्यसैले यसमा अष्ट्रेलियाले पनि चासो दिनुपर्ने दीपाको भनाई छ ।

विश्वकप २०२२ का लागि पूर्वाधार तयार पार्ने क्रममा अहिलेसम्म करिब नेपाली मात्र करिब २ हजार कामदारको ज्यान गइसकेको छ ।

Comments

comments