शिक्षा ग्रहण गर्न र पढ्न कुनै उमेरले छेकबार लगाउँन सक्दैन । यो त मान्छेको इच्छा शक्तिमा भर पर्ने कुरा हो । अनि जब मान्छेले शिक्षाको वास्तविक महत्व बुझ्छ,अनि ऊ जुनसुकै अवस्थामा पनि शिक्षाका लागि लागिपर्दछ । यसको ताजा उदाहरण बनेकी छिन् सुष्मा वैद्य ।

उमेरले ५८ छोइसक्यो । यो उमेर नाति नातिनीसँग खेलेर विताउँने हो भन्ने आम नेपाली महिलाहरुको बुझाइ छ । तर यी हजुरआमालाई भने हिजो आज निकै चटारो छ,उस्तै चिन्ता र डर पनि । किनकि उनी यसपाली एसएलसी परीक्षामा सहभागी हुँदैछिन् । ५८ वर्षीया यी हजुरआमाले एसएलसी दिदैछिन् भन्ने सुन्दा तपाईलाई जति अचम्म लाग्यो,उनको पहिचय खुलेपछि अझ बढी अचम्म लाग्नु अस्वभाविक होइन । किनभने उनी नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यकी पत्नी सुष्मा वैद्य हुन् । ५८ वर्षीया उनी विद्यालय भर्ना भएर पढ्न थालेको ६ वर्षमै एसएलसी परीक्षा दिन सक्षम भएकी हुन् ।
सुष्माले ५२ वर्षको उमेरमा काठमाडौंको नयाँ बसपार्कस्थत प्रेरणा महिला विद्यालयमा भर्ना भएर औपचारिक शिक्षाको सुरुआत गरेकी थिइन् । विद्यालय जाने उमेर पुगेका तर लेखपढ गर्न नजान्ने महिलालाई पढाउन यो विद्यालय खोलिएको हो । विद्यालय भर्ना हुनुअघि सुष्मा सामान्य लेखपढ गर्नमात्र सक्थिन् ।

प्रेरणा स्कुलमा भर्ना हुनुअघि अरू कुनै पनि स्कुलमा भर्ना भएकी थिइनँ । नपढे पनि आफन्त र साथीभाइको संगतले पत्रिकाका अक्षर खुट्ट्याउन सक्ने भएकी थिएँ,उनी भन्छिन्–स्कुलमा नियमित पढ्न थालेपछि त मेहेनत गरियो भने गर्न नसक्ने केही पनि छैन रहेछ भन्ने आत्मविश्वास जागेको छ ।

उनी सुरुमा उक्त विद्यालयको कक्षा १ मा भर्ना भएकी थिइन् । त्यसपछि सिकाइको स्तर बढ्दै गएपछि सोही वर्ष विभिन्न तह पार गर्दै कक्षा ४ मा पुगिन् । विद्यालयले विद्यार्थीको सिकाइ स्तर छुट्ट्याएर विभिन्न समूहमा वर्गीकरण गर्छ । उत्कृष्ट विद्यार्थीलाई एकै वर्षमा तीनचारवटा कक्षासम्म चढाइन्छ ।

कक्षा १० सम्मको पढाइ पूरा गरेपछि सुष्मा एसएलसी परीक्षामा सहभागी हुन लागेकी हुन् । अहिलेसम्म प्राप्त सिकाइ उपलब्धि मूल्यांकन गर्दा एसएलसी पनि उत्तीर्ण हुनेमा उनी ढुक्क छिन् ।

उनलाई पढाउन घरमा छोरी, ज्वाइँ, पति तथा अन्य आफन्तले सहयोग गरिरहेका छन् । त्यसो  उनी आफूले भर्खर एसएलसी दिन लागे पनि उनका तीनवटी छोरीले स्नातकोत्तर पढिरहेका छन् ।

उनलाई आठवटा विषयमध्ये सबैभन्दा अप्ठ्यारो नेपाली लाग्छ । अधिकांश विद्यार्थीले कठिन अनुभव गर्ने अंग्रेजी, गणितलगायतका विषय भने उनलाई सजिलो लाग्छ । नेपालीमा धेरै पढ्नुपर्ने र लेख्नु पनि धेरै नै पर्ने । बुढेसकालमा हात पनि गल्दो रहेछ । त्यही भएर नेपाली साह्रै गाह्रो लाग्छ, उनले रहस्य खोलिन् ।

Comments