डाक्टर अथवा इन्जिनियर बनेर देश र समाज सेवा गर्ने बाल्यकालदेखिको सपना बोकेका रामकुमार श्रेष्ठले १९८६ मा छात्रबृत्ति अन्तरगत रसिया गएर आफ्नो इन्जिनियरिङ्ग अध्ययन पुरा गरी १९९२ स्वदेश फर्केर बिभिन्न संस्था मार्फत काम गरी पहिलो पटक सन् २००२ मा  अष्ट्रेलिया आइपुग्नु भयो श्रीमतिको मेलबर्न युनिभर्सिटिमा अध्ययनको सिलसिलामा | श्रीमतिको अध्ययनको समाप्तीपछि जुलाई २००४ मा नेपाल फर्किएका श्रेष्ठ २००६ मा बेलायततिर लाग्नु भयो र बिभिन्न इन्जिनियरिङ्ग कन्सल्टेन्सीहरु मार्फत आफ्नो इन्जिनियरिङ्ग कामलाई त्यहाँ निरन्तरता दिनु भयो | उहाँको जीवन यात्रा सन् २०१२ देखि पुन अस्ट्रेलियामातर्फ नै मोडियो र अहिलेको बसाई अष्ट्रेलियामा नै छ |
अध्ययनमा उत्तिकै रुची राख्ने श्रेष्ठ “ज्याक क्यानफिल्ड”  र “मार्क भिक्टर  हेन्सेन” द्वारा लिखित ”चिकेन सुप फर द सोल” पुस्तकलाई सधै सम्झिनुहुन्छ | १४० भन्दाबढी प्रकाशकहरुद्धारा प्रकाशन गर्न अस्वीकार गरिएको थियो उनीहरुको उक्त पुस्तक । कुनै पनि प्रकाशकले सोचेको थिएन कि सो पुस्तक बेस्ट सेलर पुस्तकमा पर्छ भनेर । जब सो पुस्तक प्रकाशन भयो त १०० मिलियनभन्दा पनि बढी कपी बिक्री भयो जस्ले दुबैलाई धनी पनि बनायो र प्रख्यात पनि । उनीहरु नै आफ्नो जीवनका रोल मोडल हुन् भन्नुहुन्छ, इन्जिनियर श्रेष्ठ |
देशप्रतिको जिम्मेवारीबोध साँच्चै नै भयो भने काम गर्ने सिलसिलामा आइपर्ने कुनै पनि किसिमका बाधा र ब्यबधानले सफलता प्राप्तीमा अबरोध सिर्जना गर्न नसक्ने विश्वास बोकेका श्रेष्ठ आफ्नै ब्यवसाय सन्चालनार्थ प्रयासरत छन् | बुद्धको जन्मस्थल बिषयमा सिर्जना गरिएको र भएको बिस्वब्यापी भ्रम हटाउन लागि परेका श्रेष्ठले पाँच बर्षको अन्तरालमा साना ठूला बिभिन्न स्तर र कोणबाट सिर्जना गरिएका प्रत्यक्ष र परोक्ष ब्यबधान र बाधाहरु सम्झन्छन । आफूलाई राष्ट्रबादीको रुपमा देखाउन खोज्नेहरु समेत त्यसो गर्नेबाट अछुतो नरहेको बताउनु हुन्छ उहाँ । उहाँको फुर्सदका समय लेखपढ घुमघाम र भेटघाटमा नै बित्छ |
श्रेष्ठ आफ्नै जीवन भोगाइका हिजोका दिनहरु सम्झिदै भन्नुहुन्छ  ”जीवनमा काम गर्ने सिलसिलामा चाहेर वा नचाहेर हर पल हर क्षण आइपर्ने बिभिन्न समस्या र ब्यबधानलाई सामना गर्दै अगाढि बढ्दा गल्ती वा कमजोरी हुन्छन, तर तिनीहरुलाई गुरूको रूपमा स्विकारी त्यसबाट सिक्दै अगाडि बढ्नु पर्छ । नि:स्वार्थ तवरबाट काम गर्दा समेत प्रत्यक्ष परोक्ष रुपमा बिभिन्न स्तर र किसिमबाट ब्यबधान सिर्जना गर्नेहरु पनि हुन्छन । तिनीहरुबाट कहिले पनि नअत्तालिकन कामलाई निरन्तरता दिनु पर्छ । किनकि कतिपय मानिसको नियत नै त्यस्तै हुन्छ । अत: जीवनलाई सघर्ष र कला दुइ पाटोको सम्मिश्रणको रुपमा लिइनु पर्छ ।”
सामाजिक अभियन्ताका रुपमा समेत सक्रिय रहेका श्रेष्ठ पछिल्लो समय बुद्धको जन्मस्थलबारे भैरहेका गलत प्रचार प्रसारको बिभिन्न किसिमबाट खण्डन  गर्दै बुद्धको जन्मस्थल नेपाल हो भन्ने सन्देश बोकेर अघि बढ्नु भएको छ | सन् २००९ मा भारतले बुद्धको जन्मस्थल लुम्बिनीलाई आफ्नै देशमा जन्मेको भनेर नक्कली लुम्बिनी निर्माण गरेको समाचारले उहाँको मन निकै छोयो । उहाँ भन्नुहुन्छ ”यसको न त सरकारले खण्डन गर्यो न त कुनै ठुला मिडिया नै यसको विरुद्धमा लागे । यही सर्बपक्षीय मौनताका कारण भारतको रवैयाको विरुद्ध फेसबुक र इमेल मार्फत बुद्धको जन्मस्थल नेपाल हो भन्ने सन्देश दिने अभिप्रायले अभियानको नेतृत्वदायी सूत्रपात गर्न बिभिन्न देशमा चारिएर रहेका हामी लाग्यौं जसले  छोटो समयमा विश्वब्यापी रूप लियो र छोटो समयमा अनपेक्षित उपलब्धिहरु हासिल भए । कोरियापछी स्वीडेनको पाठ्य पुस्तकमा बुद्धको जन्मस्थानबारेमा भएको गलत जानकारी सच्याउने जस्तो अत्यन्तै महत्वपूर्ण काम समेत भैसकेको छ ।”
आफ्नो सपनाको पछि पछि दगुर्दै सिभिल इन्जीनियर बन्न पुगेका रामकुमार श्रेष्ठ भावी सन्ततिहरुले बिशेष गरी वाताबरणी प्रदूषणका दृष्‍टिकोणले अझ बिकराल समस्याहरु भोग्न पर्ने संकेतहरुप्रति सचेत हुनुपर्नेमा जोड दिनुहुन्छ | हाम्रो बर्तमानमा हामीले जे जस्ता समस्या भोगिरहेका छौं त्यो समस्या न्यूनिकरणका लागि आ-आफ्नो क्षमताले भ्याएसम्म सजग र सतर्क हुँदै योगदान दिने सामाजिक कार्यकर्ताको रुपमा बातावरणबिदको खाँचो रहेको उहाँको सुझाब छ | यस्तो हुन नसकेको खण्डमा अहिले नै भयाबह रुपमा देखा परेको पर्यायवरणीय समस्याले हाम्रा भावी सन्ततिले सामना गर्नु पर्ने समस्या कल्पना बाहिरको हुने बताउनु हुन्छ श्रेष्ठ ।
एकै वाक्यमा सबैलाई सल्लाह दिनुपर्दा श्रेष्ठ  भन्नुहुन्छ ” सक्छौ अरुलाई सहयोग गर, सक्दैनौ अरुलाई हानी हुने काम नगर ।”

Comments

comments