अनेक हर्कत र अभिव्यक्तिका कारण बेला बखत मिडियामा छाउँन खप्पीस नायिकामा पर्छिन् रेखा थापा । उनै रेखा थापा यतिखेर आफ्नो महत्वाकांक्षी चलचित्र हिम्मतवालीको प्रचार अभियानमा छिन् । त्यसो त हिम्मतवालीको प्रदर्शन मिति आउँन अझै दुई तीन महिना नै छ तर पनि त्यसको प्रचारमा उनी अहिलेदेखि नै डटेर लागेकी छिन् । यसै चलचित्रबाट उनी निर्देशक पनि बन्दै छिन्,त्यसैले यो उनको हिम्मत जोख्ने मेलो पनि हो । रेखा त्यसरी मरिमेटेर लाग्नुमा अरु पनि धेरै कारण छन् । जस्तो उनले आफ्ना पूर्व पति छवि ओझालाई सफल निर्मात्री बनेर देखाउँनुछ,हिम्मतवाली निर्देशन गर्दा गर्दै निस्केका निर्देशक श्याम घिमिरेलाई आफ्नो निर्देशकीय क्षमता दर्शाउँनुछ ।

त्यसैले रेखा अनेक तिकडम गरेर भए पनि दर्शकहरुको मन र मुखमा हिम्मतवाली झुण्डिरहोस् भन्ने योजनामा छिन् । त्यसका लागि कहिले चलचित्रका नायक भनिएका सुदर्शन गौतमसँग अफेयरको हावा चलाएर,कहिले फुजी हिमाल आरोहण गर्ने झ्याली पिटाएर त कहिले पूर्व पति छविसँग पौंठेजारी खोजे जस्तो गरेर उनी चर्चामा आइ नै रहेकी छिन् । यसैबीच अहिले फेरि उनी चलचित्र विकास वोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र अवार्ड बहिष्कारको कुरा गरेर मिडियामा छाउँन थालेकी छिन् । वोर्डले चार वर्षको अवार्ड सोमबार एक मुष्ट वितरण गरेका छन् ।

तर राष्ट्रिय लेभल दिइएको अवार्ड मनलागी वितरण गरिएको दाबी गर्दै रेखाले बहिष्कारको घोषणा गरेकी  हुन् । उनी भन्छिन्–यो अवार्ड योग्यता र क्षमताले होइन,राजनीतिक आस्था र हाम्रा मान्छेको आधारमा भागभण्डा गरी दिइयो । उनी नामै किटेर भन्छिन्–विल्सनविक्रम राई नेपाली चलचित्रका लागि अझै नयाँ नै छन् । उनले यति छिटो राष्ट्रिय पुरस्कार कसरी पाए ?

यसरी अवार्डको वहिष्कार गरेर पनि रेखाले आफ्नो चलचित्र हिम्मतवालीको नै प्रोमोशन गर्न खोजेको केही विश्लेषण छ । हिम्मतवाली चलचित्रकी नायिका त साँच्चिकै हिम्मतवाली रहेछिन् भन्ने भान पार्न स्वाङ गर्दैछिन् रेखा,एक चलचित्रकर्मीले टिप्पणी गरे ।

Comments

comments