सन् २०१८ को रुस बिश्वकप फुटवलको प्रारम्भिक छनौटको दोस्रो लेगको खेलमा नेपाली टोलीले मंगलबार भारतबिरुद्ध प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा हुने नेपालको होम खेलमा नेपाली टोलीले आक्रामक रणनीति अपनाउने भएको छ ।

सोमबार खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान सागर थापा तथा प्रमुख प्रशिक्षक ज्याक स्टेफानोस्कीले घरेलु मैदानको फाईदा उठाउदै आफ्नो टोलीले जितका लागि खेल्ने बताएका छन् । बिश्वकप २०१८ को प्रारम्भिक छनौटको पहिलो लेगमा भारतसंग दुई शून्य गोलले पराजित भएको नेपालले छनौटको दोस्रो चरणमा प्रवेश पाउन मंगलबार हुने खेलमा कम्तिमा तीन शून्यको जित निकाल्नुपर्ने छ । नेपाली टोलीका कप्तान सागर थापाले गुवाहाटीमा भएको पहिलो लेगको खेलमा नेपाली टोलीले रक्षात्मक रणनीति अपनाएकोमा मंगलबार घरेलु मैदानमा आक्रामक फुटवल खेल्ने बताए ।

नेपाली टोलीका अमेरिकी प्रशिक्षक ज्याक स्टेफानोस्कीले मंगलबारको खेलमा नेपाली टोलीमा केहि परिमार्जन हुनसक्ने बताएका छन । गत बििहबार भएको पहिलो लेगको खेलमा स्ट्राइकरहरु भरत खवास र बिमल धर्तिमगरले मोर्चा संहालेका थिए । नेपाली टोलीको कमजोरी रहेको अग्रपंक्ति भारत बिरुद्धको खेलमा पनि स्पष्ट देखिएको थियो । नेपालले पछिल्लो ६ खेलमा कुनै प्रतिद्धन्दीलाई गोल गर्न सकेको छैन । तर घरेलु मैदानमा गत बर्षको साफ च्याम्पियनशिपमा भारतलाई दुई एक गोलले हराएको नेपालले मंलबारको खेलमा त्यो भन्दा उत्कृष्ट नतिजा निकाल्नुपर्ने हुन्छ । भारतीय प्रशिक्षक स्टेफन कोन्स्तान्तिनले पनि नेपालबिरुद्धको खेल सहज नभएको बताए । अघिल्लो लेगमा जित हात पारेर केहि सहज देखिएपनि नेपालले जुनसुकै बेला खेलमा पुनरागमन गर्नेमा भारत सचेर रहेको प्रशिक्षक स्टेफनको भनाई थियो । भारतीय टोलीका कप्तान सुव्रतो पलले पनि नेपालबिरुद्ध जितका लागि प्रतिस्पर्धा गर्ने बताए । नेपालले भारतबिरुद्ध अहिलेसम्म खेलेको १६ खेलमा तीन खेलमा मात्र जित निकालेको छ । फिफा बरिषतामा पनि नेपाल भारतभन्दा नौ स्थान तल छ । नेपाल फिफा बरियाताको १ सय ८० औं स्थानमा छ ।

Comments

comments