विश्वकप फुटबल २०१८ को प्रारम्भीक छनोटमा नेपालले आफ्नै मैदानमा भारतसंग भिड्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आज पत्रकार सम्मेलन गरी ३ गते हुने खेल दिउँसो साढे ३ बजे हुने जानकारी दिएको हो । गुवाहटीमा भएको खेल भने साँझ फ्लोर लाइटमा भएको थियो । उक्त खेल नेपालले २-० ले गुमाएको थियो । एन्फाका अनुसार प्रतियोगिताको सबै तयारी पूरा भइसकेको छ । भारतीय टीम काठमाडौं आइसकेको छ भने फिफा रेफ्रीहरु आइतबार साँझ आइपुग्नेछन् ।

यसैबीच एन्फाले यो पटक १० हजार टिकट बिक्री गर्दैछ । दशरथ रंगशाला मर्मतकै क्रममा रहेका साधारण प्याराफिटतर्फ ८ हजार र भीआइपीतर्फ २ हजार टिकट बिक्री गरिने महासचिव धिरेन्द्र प्रधानले जानकारी दिए ।

खेल हुने दिन विहान ८ बजेदेखि १२ बजेसम्म दशरथ रंगशालामै टिकट बिक्री गरिनेछ ।

साधारण प्याराफिटतर्फ टिकटको ७०० रुपैयाँ तोकिएको छ भने भीआइपीतर्फ १५०० रुपैयाँ छ । विगतको अनुभवका आधारमा मूल्य तोकिएको कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले जानकारी दिए ।

Comments

comments