एमाओवादी र मोहन बैद्य नेतृत्वको नेकपा माओवादीबीच पार्टी एकिकरण प्रक्रिया शुरु भएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा आज भएको शीर्ष नेतृत्वबीचको छलफलले बार्ता कमिटि गठन गर्दै छलफललाई निरन्तरता दिने निष्कर्ष निकालेको हो । छलफलपछि दुबै पार्टीका अध्यक्षद्धारा जारी संयुक्त विज्ञप्तिमा विचार मिल्ने क्रान्तिकारी शक्तिबीच एकता महसुश गरिएको उल्लेख छ ।

वार्ता समितिमा एमाओवादीबाट अध्यक्ष दाहालसँगै नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी छन् भने नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ रहेका छन् । बैठकले मुलुकमा प्रतिगमन बढेको निष्कर्ष निकाल्दै त्यसका विरुद्ध र जनजीविकाका विषयलाई लिएर संयुक्त आन्दोलन उठाउने सहमति गरेको छ ।

यस्तै सत्य निरुपण मेलमिलाप तथा बेपत्ता छानविनसहित शान्ति प्रक्रियासँग जोडिएका विषयमा पनि संयुक्त आन्दोलन गर्ने सहमति भएको विज्ञप्तिमा जनाइएको छ ।

Comments