“तेजाब आक्रमणका पिडितले नै सहयोग गरेनन् -गृहमन्त्रि” शीर्षकको समाचार पढिरहेका बेला पिडित संगीताकी आमा हामी सँगै थिईन् | हामीले घटना पछिका ब्यबहारिक समस्याका बारेमा केहि बेर कुरा गरेका थियौं | संगीताकी  आमाले हामी संग भएको कुराकानीमा यसो भनिन् , “अस्पतलमा गृहमन्त्री आउनुभएको रे भन्ने चाहिँ अरुले भने तर मैले भेटेको छैन | प्रहरीका ठुलो सरहरु आउनु भाको थियो | सोधपुछ गर्नु भएकै छ | हामीले थाहा पाए सम्मको सबैकुरा भनेकै छौं | जस्तो सुकै सहयोग गर्छौं , अपराधी समतियोस | हनुमानढोकामा थप बयान दिन बोलाउनु भएको छ | केहि दिन अघि सोधपुछ कै क्रममा छोरा सन्तोषलाई समेत प्रहरीले बसन्तपुरबाट समातेछ | हुलिया मिल्छ भनेर हप्काई दप्काई गरेछ | हामीले थाहा पाएनौ , पछी खबर पाएर हनुमान ढोका पुग्दा छोरा माथि नै सोधपुछ गर्ने प्रहरीले दुर्ब्यबहार गरेछ | मैले यस्तै हो दिदीको घाउ भन्दा त्यो ठुलो होइन भनेर सम्झाएँ | प्रहरीले सोधेको कुरा त भन्नै पर्छ नि भनें | घटना भएको दिन बिहान बाबुछोरा अबेर सम्म सुतिरहेकै थिए |

पिडा पछिका  ब्यबहारिक कठिनाइ 
अस्पतालमा संगीतालाइ भेट्न आउने र सोधपुछ गर्नेमा अहिले प्रहरी र आफन्त मात्र छैनन्, उनको बारेमा थाहा पाउने धेरैले भेट्न र सहयोग गर्न चाहेका छन् | बिदेशमा बस्ने नेपालीहरुले समेत सहयोग पठाएका छन् | सहयोग पठाउने हरुले नेपालमा भएका आफन्त वा साथी भाइ मार्फत नगद वा चेक हस्तान्तरण गर्ने गर्छन् | कतिपय चेकमा मिति उल्लेख छैन | कतिपयले संकलन गरेर पठाउनु भएको रकम उल्लेखित भन्दा कम हुने गर्छ | कतिपयले हामीले यति रकम सहयोग पठाएका छौं पाउनु भयो भन्नुहुन्छ | हामीकहाँ आइपुगेको हुँदैन , कहिले आइपुगेको रकम भनिएको भन्दा कम हुन्छ | संगीताको उपचारको निम्ति भनेर आएको सहयोग रकमबारे सबै लिखित रुपमा राख्ने गरेका छौं | नगद र चेक मार्फत आएका सबै रकम बैंक खातामा संकलन गरिएको छ | हाम्रो बैंक खाता समेत थिएन , अहिले यहि उपचारकै निम्ति संगीताको नाममा न्युरोडको एस डेभलपमेन्ट बैंकमा बैंक खाता खोलेको हो | हामीले यतिका मान्छेले सहयोग गर्छन् भन्ने कल्पना गरेका पनि थिएनौं | हाम्रा लागि धेरैले दुख गर्नु भएको छ | रक्षा नेपालका दुईजना आफै पनि पिडित बहिनीहरुले समेत सहयोग गर्नु भएको छ | सबैले लगाउनु भएको गुन हामी बिर्सने छैनौ | उपचार नै महँगो छ रे | लाखौं लाग्छ भन्ने सुनेका छौं | काठमाडौँ मेडिकल कलेजमा लागेको सबै औसधि खर्चको बिल संकलन गरेर राखिएको छ | कति समय बस्नु पर्छ कति तिर्नुपर्छ भन्ने एकिन छैन | घाउ झन् गहिरिदै गएको छ | बजारमा केहि हल्ला चलेका रहेछन् |
-सिमा र र संगीता डिस्चार्ज भैसके |
-उपचार सहयोग पाइन्छ भनेर फेरी अस्पताल भर्ना गरेको छ |
-सबै खर्च सरकारले बेहोरेको छ |
-संगीतले एसएलसी को परिक्षा नै दिनु पर्दैन | आदि |
कति जनाले मलाई फोनमा यहि कुरा दोहोर्याएर सोध्ने गर्छन् | मलाई अस्पताल बाहिर के भैरहेको छ भन्ने त्यति थाहा हुन्न | उपचारमा व्यस्त हुँदा प्रहरीमा उजुरी लेखाउन समेत पाएका थिएनौं | सरकारले उपचार खर्च के कसरि बेहोर्छ हामीलाई जानकारी छैन | पहिला त प्रहरीले अपराधी समाती दिए हुन्थ्यो भन्ने लागेको छ सँगै छोरीको उपचार र आउंदै गरेको एसएलसी परिक्षा दिन सक्ने हो कि होइन भन्ने चिन्ता छ | लेख्ने हातमा नै घाउ छ | परिक्षा केन्द्र कहाँ पर्छ भन्ने थाहा छैन , अस्पतालमा नै परिक्षा दिन त मिल्दैन होला ? संगीताले परिक्षा दिन सक्ने भयो भने परिक्षा केन्द्र सम्म लगिदिने वा अस्पताल नजिकको स्कुलमा परिक्षा दिन मिल्ने ब्यबस्था गरिदिए सजिलो हुन्थ्यो | “

अस्पतालको बसाई र आर्थिक अभाव ब्यबहारिक कठिनाईका बीच अपराधीको समेत खोजि गर्नु पर्ने यो परिस्थिति जो कसै माथि आइपरेको भए पनि पक्कै सहज छैन | यो असहजताका बीच परिवारबाट गृह प्रशासनले अपेक्षा गर्न सक्ने सहयोग कति हुन्छ त्यो सोचनीय नै छ | यद्यपि पिडितको सहयोग बिना अपराधी समात्ने अर्को उपाय पनि छैन | अर्को तर्फ नजिकिंदै गरेको एसएलसी परिक्षा र संगीताको शैक्षिक भविष्यका बारेमा सम्बन्धित बिद्यालयको सहयोग अत्यावस्यक देखिन्छ |

( एसिड आक्रमणमा गम्भीर घाइते संगीता मगरकी आमा चमेली मगर  संगको प्रत्यक्ष कुराकानीमा आधारित )

Comments

comments