विश्वकप क्रिकेट अन्तर्गतको आज भएको अत्यन्तै रोमाञ्चक खेलमा अष्ट्रेलियाले पराजय बेहोरेको छ ।

अकल्याण्ड इडन पार्कमा भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डसँग १ विकेटको पराजय बेहोरेको हो । मात्र १ सय ५२ रनको विजय लक्ष्य पछ्याएको न्युजिल्याण्डले मात्र २३ ओभर १ बलमा आफ्नो ९ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको थियो । न्युजिल्याण्डका लागि कप्तान ब्रेण्डन म्याकुलमले उत्कृष्ट ब्याटिङ गर्दै मात्र २४ बलमा ५० रन जोडेका थिए ।

यस्तै, केन विलियमसनले अविजित ४५ रन, कोरी एण्डरसनले २६ रन जोडेका थिए । अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ६ विकेट लिएका थिए । ६ विकेट लिने क्रममा स्टार्क २ पटकसम्म ह्याट्रिक बलमा पुगेका थिए तर उनले ह्याट्रिक भने पुर्याउन सकेनन् । यस्तै, प्याट कुमिन्सले २ विकेट र ग्लेन म्याक्सवेलले १ विकेट लिएका थिए ।

अष्ट्रेलिया खेलमा फर्किने प्रयास गरेपनि निकै कम रन बनाएका कारण खेलमा फर्कन सहज हुन सकेन । कुनै बेला १ सय ३० रन मा ४ विकेट गुमाएको र जीतका लागि मात्र २२ रन बाँकी रहेको अवस्थामा रहेको न्युजिल्याण्डले एकाएक विकेट गुमाएपछि खेलमा रोमाञ्चकता थपिएको थियो । मात्र १६ रन जोड्दा न्युजिल्याण्डले थप ५ विकेट गुमाएपछि न्युजिल्याण्डको इनिङ अन्तिम अवस्थामा पुगेको थियो । अष्ट्रेलियालाई जीतका लागि मात्र १ विकेट चाहिएको थियो भने न्युजिल्याण्डलाई २७ ओभरमा ६ रन लिनु थियो । तर, ९ विकेट गुमाइसकेपछि न्युजिल्याण्ड निकै संकटमा परेको थियो । केन विलियमसनले २४ औ ओभरको पहिलो बलमा नै छक्का प्रहार गर्दै खेल जिताउन सफल भए ।

यसअघि टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले मात्र ३२ ओभर २ बल खेल्दै आफ्ना सबै विकेट गुमाएर १ सय ५१ रन जोड्न सफल भयो । अष्ट्रेलियाका लागि ब्राड ह्याडिनले सर्वाधिक ४३ रन जोडेका थिए भने डेभिड वार्नरले ३४ रन, सेन वाटसनले २३ रन जोडेका थिए । अन्य कुनै पनि ब्याटस्म्यान उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । अष्ट्रेलियालाई उक्त स्कोरमा रोक्नका लागि ट्रेन्ट बोल्टले ५ विकेट लिएका थिए भने टिम साउदी र डेनियल भिटोरीले समान २(२ विकेट र कोरी एण्डरसनले १ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच ट्रेन्ट बोल्ट घोषित भएका छन् ।

Please follow and like us:

Comments