नेपाल फेस्टिवल यसपटक अस्ट्रेलियाको ब्रिसबेनको किङ्जर्ज स्क्वायरमा हुने भएको छ । एनआरएनए अस्ट्रेलिया क्विन्सल्यान्ड राज्य संयोजन परिषद्को आयोजनामा हुन लागेको नेपाल फेस्टिवल २०१५ आउदो मार्च १५ आइतबार हुने भएको छ । बिहान १० बजे सुरु हुने फेस्टिवल राति १० बजेसम्म चल्ने बताइएको छ ।

नेपाली कला, संस्कृति तथा समग्रमा नेपालीपनको जगेर्ना गर्नको लागि फेस्टिवल आयोजना गर्न लागिएको परिषद्का संयोजक स्वतन्त्रप्रताप शाहले जानकारी दिनुभयो ।

करिब डेढ दर्जन स्टल रहने फेस्टिवलमा नेपालीहरुको उल्लेख्य सहभागिता रहने जनाइएको छ । नेपाली परिकार तथा विभिन्न शैक्षिक परामर्शदाता कम्पनी र अन्य केहि संस्थाका स्टल रहने परिषद्का उप-संयोजक रमेश पौडेलले बताउनुभयो । उहाँका अनुसार फेस्टिवलले क्विन्सल्यान्डवासी नेपालीलाई एक पटक फेरि नजिक ल्याइदिनेछ ।

कार्यक्रमलाई सफल बनाउनको लागि नेपालबाट केहि लोकप्रिय कलाकारहरु ल्याउने तयारी गरिएको आयोजक संस्थाले बताएको छ । फेस्टिवलको प्रमुख आकर्षणको रूपमा गायिकाद्वय कोमल वली तथा इन्दिरा जोशी रहनेछन । उनीहरुसंगै अन्य ख्याति प्राप्त कलाकारलाई पनि ल्याउने प्रयास भइरहेको जानकारी दिइएको छ ।

फेस्टिवलमा स्थानीय नेपाली कलाकारहरुको पनि प्रस्तुती हनेछ । नेपाली कला तथा संस्कृतिलाई केन्द्रमा राखेर कार्यक्रम संयोजन गरिने तयारी भइरहेको संयोजक शाहले बताउनुभयो । फेस्टिवलकोको अनलाईन मिडिया पार्टनरमा हिमालयन कंगारू डट कम र वीकइन्डर रहेका छन् ।

Comments

comments