गैरआवासीय नेपाली संघले आफ्नो केन्द्रीय कार्यालय भवन बनाउन काठमाडौंमा जग्गा खरिद गरेको छ । काठमाडौंको मुटु मानिने बालुवाटारस्थित प्रधानमन्त्री निवास र सभामुख निवासको ठिक अगाडि एनआरएनएले तीन रोपनी जग्गा खरिद गरेको हो ।

एनआरएनए आइसीसीले गठन गरेको जग्गा खरिद समितिको सुझावअनुसार प्रतिआना २६ लाख ५० हजार रुपैयाँका दरले जग्गा खरिद गरिएको एनआरएन आइसीसीका प्रवक्ता मन केसीले जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार जग्गाको कुल लागत १२ करोड ७२ लाख रुपैयाँ परेको छ ।

सो बापत एनआरएनएले सोमबार नै जग्गाधनीलाई चार करोड रुपैयाँ बैना दिइसकेको छ । अध्यक्ष शेष घलेले यस कार्यमा विगत एक वर्षदेखि खटिरहनुभएका अमेरिकाका उपक्षेत्रीय संयोजक सोनाम लामालाई बिषेश धन्यवाद दिनुभएको छ ।

जग्गा खरिद प्रक्रियामा निरन्तर लागेका उपाध्यक्ष भवन भट्ट, अमेरिकाका क्षेत्रीय उप-संयोजक सोनाम लामा, एनआरएनए सचिवालयका कार्यकारी निर्देशक राजेश राणा तथा समितिका सदस्यहरु शिशिर भट्ट र सुरेश चित्रकार, बिल्डिङ टास्कफोर्सका सबै तहका सदस्य तथा सहयोगीलाई पनि अध्यक्ष घलेले धन्यवाद दिएका प्रवक्ता केसीले बताउनुभयो ।

जग्गा पाएपछि एक महिनाभित्रै भवन शिलान्यास गर्ने तयारीमा रहेको उहाँले बतानुभयो । भवन निर्माणका लागि प्रतिबद्धता जनाइएको रकम उठाउने, थप रकम संकलन गर्न कार्यलाई पनि तीब्रता दिईने अध्यक्ष घलेले भनाइ उदृद्ध गर्दै केसीले जारी गरेको वक्तब्यमा भनिएको छ ।

घलेले अध्यक्षको कार्यभार सम्हालेपछि आफ्नो पहिलो प्राथमिकतामा भवन निर्माणलाई बनाउँदैं आएका थिए । सोहीअनुसार उनकै संयोजकत्वमा भवन निर्माण समिति गठन भई विश्वका विभिन्न मुलुकहरुमा रकम संकलन अभियान सञ्चालन भइरहेको छ । भवन निर्माणका लागि अहिलेसम्म करिव १७ करोडको प्रतिबद्धता आइसकेको छ भने त्यसमध्ये करिव ५ करोड रुपैयाँ खातामा जम्मा भइसकेको छ ।

करिव १५ करोड लागतमा भवन निर्माण सम्पन्न गर्न लक्ष्य राखिएको भए पनि काठमाडौंको मुख्य स्थानमै जग्गा पाइएपछि त्यसको लागत केही बढने देखिएको छ ।

Comments

comments