प्रथम दक्षिण एसियाली मार्सल आर्ट महोत्सव अन्तर्गत तेक्वान्दो आईटीएफमा नेपालका लीलाधर बस्नेत र रमेश श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन् ।

दुवै खेलाडीले फाइनलमा बंगलादेशका प्रतिद्वन्द्वीलाई पाखा लगाए । सिनियर पुरुषतर्फको ६५ देखि ७० केजी तौलसमूहमा लीलाधरले मोहम्मद जाकिर हुसैनलाई र ५६ देखि ६० केजीमा रमेशले मोहम्मद रहमादलाई पराजित गरेका हुन् । सिनियर पुरुषतर्फकै ९० केजीभन्दा माथिको तौलसमूहमा बंगलादेशका मोहम्मद अबुरुद रसिडले स्वर्ण पदक जितेका छन् ।

७१ देखि ७५ केजीमा नेपालका भीमबहादुर तामाङ पहिलो भए । नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् राखेप को कभर्डहलमा भएको सिनियर महिलातर्फको ४५ देखि ५० केजी तौलसमूहमा सजना तामाङ पहिलो भइन् । महिलातर्फकै ५६ देखि ६० केजीमा वसन्ती बूढामगर, ५१ देखि ५५ केजीमा मुना बोमजन र ४० देखि ४५ केजीमा रन्जु पुलामीमगरले नेपाललाई स्वर्ण पदक दिलाए ।

यसैगरी तेक्वान्दो आईटीएफ जुनियर पुरुषतर्फको २० देखि २५ केजी तौलसमूहमा कैलाश श्रेष्ठ, २५ देखि ३० केजीमा सार्थक बस्नेत, ३० देखि ३५ केजीमा सुनील लामा, ३५ देखि ४० केजीमा मिङमा तेन्जिङ शेर्पा र ४५ देखि ५० केजीमा प्रज्ज्वल गड्तौलाले स्वर्ण पदक जित्न सफल भए ।

जुनियर महिलाको २१ देखि २५ केजीमा नेपालकी सभ्यता केसी, २६ देखि ३० केजीमा राधिका भण्डारी, ३० देखि ३५ केजीमा अरुणा अधिकारी पहिलो भए । ३५ देखि ४० केजी तौलसमूहमा निस्मा बस्यालले स्वर्ण पदक जितिन् ।

Comments

comments