हालसम्म निर्वाचन ३ पटक स्थगित भइसकेको नेपाली कांग्रेसको भातृ संगठन नेपाली विद्यार्थी संघको निर्वाचन हुन सकेको छैन ।

नेपाली कांग्रेसले अन्य भातृ संगठनको अधिवेशन गर्न नसकिरहेका बेला विद्यार्थी संघको पनि विगत ११ वर्षदेखि निर्वाचन हुन सकेको छैन् । पुरानै कार्यसमितिबाट धक्काप्लेटमा नेविसंघ नेतृत्व चल्दा संगठन नै कमजोर बनेको छ ।

कांग्रेसको हिजो बसेको बैठकले नेविसंघ र तरुणदलको आगामी बैशाखभित्रै अधिवेशन गर्ने निर्णय पनि गरेको छ । तर यो मिति पनि सर्ने शंका विद्यार्थीमा छ ।

कांग्रेसमा प्रष्टै छ । देउवा र कोइराला पक्षको प्रतिस्पर्धा । सुशील कोइराला सभापति र वरिष्ठ नेता शेरबहादुर देउवाबीच बढ्दो भागवण्डाले प्रतिस्पर्धाले पार्टीका भातृ संगठनका अधिवेशन नयाँ नेतृत्व चयन गर्न नसकेको हो ।

नेविसंघ कोइराला प्यानलका उम्मेदवार हार्ने देखिएपछि महाधिवेशन स्थगित गरिएको पार्टीका एक सदस्यले बताए । ‘देउवा पक्षका उम्मेदवार बोलिया देखिएकाले सभापति ज्यूले महाधिवेशन नगरौं भन्नुभयो,’ उनले बताए ।

कांग्रेसमा पछिल्लो २ कार्यकाल सभापति बन्न निर्वाचन लडेका वरिष्ठ नेता देउवाले लगातार हारेका छन् । देउवा आफू हारेपनि पार्टीमा आफ्नो पहुँच बोलियो बनाएका छन् ।

त्यसैकारण नेविसंघका नेतृत्व उनकै प्यानलले गर्ने देखिएपछि सभापति कोइरालाले तयारी नपुगेको भन्दै स्थगित गरेको ती नेताले जानकारी दिए । कांग्रेसमा अहिलेपनि देउवा र कोइरालाबीच ६०/४० को भागवण्डा हुँदै आइरहेको छ ।

सभापति कोइरालाले ६० प्रतिशत नेतृत्व आफ्नो भागमा नपर्ने देखिएपछि नेविसंघको महाधिवेशन स्थगित भएको हो ।

Comments