खेलकुद र संगीतका हस्तीहरुको उपस्थिति, सांस्कृतिक प्रस्तुति र मनमोहक आतिसबाजीका साथ क्रिकेटको महाकुंभ बिश्वकपको न्युजिल्याण्डमा र अस्ट्रेलियामा एक साथ भब्य उद्घाटन गरिएको छ । उदघाटनको मनमोहकतासंगै अब झण्डै डेढ महिना विश्वभरका क्रिकेट प्रेमीको नजर मेलर्बन र काइस्टचर्चमा कैद हुनेछन् । बिश्वकपको एघारौ संस्करणको न्युजिल्याण्ड र अस्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरिरहेका छन् ।

न्युजिल्याण्डको क्राइस्टर्चच र अस्ट्रेलियाको मेलवर्नमा भएको उद्घाटन समारोहले, शनिबारबाट सुरु हुने बिश्वकप भिडन्त अघि सारा बिश्वको ध्यान केन्द्रित गर्न सफल भएको छ । क्राइस्टर्चच स्थित हेग्ले पार्कमा भएको उद्घाटन समारोह एकमात्र ब्यागपाइपरका साथ सुरु भएको थियो । सन २०११ को फेबु्रअरीमा भुकम्पले ध्वस्त भएपछि हेग्ले पार्कमा पहिलो पटक यति ठुलो कार्यक्रमको आयोजना गरिएको हो । भुकम्पमा १ सय ८५ जनाको ज्यान गएको थियो । दुखद घटना बाट बिस्तारै अघि बढीरहेको क्राइस्टर्चचका नागरिकले बिश्वकप उद्घाटनलाई भब्य बनाउन कुनै कसुर बांकी राखेनन । २०११ मा भुकम्प जादा क्राइस्टर्चच रग्बी बिश्वको कपको तयारी गरिरहेको थियो । तर बिनाशकारी भुकंपपछि रग्बी बिश्वकप अन्य स्थनमा सारिएको थियो । क्राइस्टचर्चका मेयरले, क्राइस्टचर्च दुखबाट निस्किएर पुन फिर्ता आएको संकेतका रुपमा बिश्वकप उद्घाटनलाई लिन सबै संग आग्रह गरे । उद्घान समारोहमा न्युजिल्याण्डका प्रधानमन्त्रीको जोन किको समेत उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमको सुरुवातमा न्युजिल्याण्डका कप्तान ब्रेडम म्याकुलमले देशबाशीलाई संम्बोधन गरेका थिए । सबै सहभागी राष्ट्रहरुले आ आफ्नो संस्कृति झल्कने प्रस्तुती दिएका थिए । उद्घाटन समारोहमा एक अर्काका चीर प्रतिद्धन्दी भारत र पाकिस्तान एकै लाइनमा उभिएको दृश्यले पनि सबैलाई लोभ्यायो । बिश्व क्रिकेटमा सबैभन्दा बढी हेरिने र प्रतीक्षा गरिने भारत र पाकिस्तानको खेल १५ फेब्रुअरीमा हुनेछ । सन २०११ मा भएको बिश्वकप क्रिकेट प्रतियोगिताको आयोजना भारत, बंगलादेश र श्रीलङकाले मिलेर गरेका थिए । जसमा भारतले फाइनलमा श्रीलङकालाई पराजित गर्दै दोस्रो पटक बिश्वकपको उपाधि जितेको थियो । यसपटक उपाधिका लागि कुल १४ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन ।

भारत उपाधि रक्षाका लागि मैदानमा उत्रदैछ भने उसलाई अष्ट्रेलिया, इङल्याण्ड, दक्षिण अफ्रिका लगायतका राष्ट्रले कडा चुनौती दिने पक्का छ । पछिल्लो समय खस्कदो प्रदर्शनले भारतले के उपाधि जोगाउला त भन्ने चर्चा क्रिकेट जगतमा हुने गरेको छ । १४ टिमलाई समूह ए र बी गरी दुई समुहमा बिभाजन गरिएको छ ।

समूह ए मा अस्ट्रेलिया, न्युजिल्याण्ड, इङल्याण्ड, स्क्टल्याण्ड, बंगलादेश, श्रीलङका र अफगानिस्तान रहेका छन । त्यसैगरी समूह बीमा भारत, पाकिस्तान, आयरल्याण्ड, दक्षिण अफ्रिका, युएई, वेस्ट इण्डिज र जिम्बाबे रहेका छन ।

प्रतियोगिताको औपचारिक खेल भने शनिबारबाट हुनेछ । पहिलो खेलमा न्युजिल्याण्ड र श्रीलङका बीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा मेलर्वनमा अस्ट्रेलिया र इङल्याण्ड आमने सामने हुनेछन । प्रतियोगिताको लिग चरणमा कुल ४८ खेल हुनेछन ।

१८ मार्च देखि क्वाटरफाइनलका खेलहरु हुनेछन । प्रतियोगिताको पहिलो सेमीफाइनल २४ मार्चमा न्युजिल्याण्डको अकल्याण्ड र दोस्रो सेमीफाइनल अस्ट्रेलियाको सिड्नीमा २६ मार्चमा हुनेछ । यस पटकको बिश्वकप च्याम्पियन को बन्ने हो त्यसको छिनोफानो भने २९ मार्चमा मेलबर्नमा हुनेछ ।

Comments

comments