प्रकाश बुढाथोकीको एकमात्र निर्णायक गोलको मद्दतले थ्रिस्टार क्लब, पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थ्रिस्टार बिभागीय टिम नेपाल पुलिस क्लबमाथि एक शुन्यको संघर्षपूर्ण जीत हात पार्दै उपाधि नजिक पुगेको हो ।

पोखरा रंगशालामा बिहीबार सम्पन्न सेमीफाइनलमा, थ्रि स्टारले पहिलो हाफमा पुलिसलाई दबाबमा राखेपनि गोल गर्न भने सकेन । ११ औं मिनेटमा भिक्टोरको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा थ्रिस्टार खेलको सुरुवातमै गोल गर्न असफल रह्यो । बारम्बार पुलिसको पोस्टमा थ्रिस्टारले आक्रमण गरेपनि गोलका लागि अन्तिम मिनेट सम्म कुर्नुप¥यो । ८५ औं मिनेटमा बैकल्पिक खेलाडी बुढाथोकीले आकर्षक गोल गरेपछि थ्रिस्टारले गोलको खाता खोल्यो । बुढाथोकीले पोस्टलाई जाली चुमाएको पुलिस गोल रक्षक रितेश थापाले पत्तो समेत पाएनन् । बुढाथोकी ६४ औं मिनेटमा जगजित श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए ।

८६ औं मिनेटमा भिक्टोर वान भर्सेस वानमा अल्मलिदा थ्रिस्टारले गोल थप्ने अवसर खेर फालेको थियो । तर त्यसपछि पुलिसले गोल नफर्काएपछि थ्रिस्टारको जीतमा बुढाथोकीको गोलनै फाइनल प्रवेशका लागि पर्याप्त बन्यो ।

थ्रिस्टारले अब उपाधीका लागि मनाङ मस्र्याङदी र सुदुरपश्चिमाञ्चल फुटबल क्लब बीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । यी दुई बीचको सेमीफाइनल शुक्रबार हुनेछ ।

Comments

comments