सन् २०१८ मा रूसमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताका लागि एसियाली राष्ट्रका अन्तिम स्थानमा रहेका देशहरूको प्रारम्भिक छनोटको खेल तालिका आज सार्वजनिक हुने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप र सन् २०१९ को एसिएन कपको प्रारम्भिक छनोट एकैसाथ गर्न लागेको छ । पहिलो चरणमा फिफा वरीयतामा पछाडि रहेका एसियाली देशका १२ टोली सहभागी हुनेछन् । एएफसीले एसियाली राष्ट्रको वरीयतामा ३५ देखि ४६ औं स्थानमा रहेका राष्ट्रलाई छनोट खेलमा सहभागी गराउने छ । पछिल्लो वरीयतामा रहेका १२ राष्ट्रमा भारत, श्रीलंका, यमन, कम्बोडिया, चाइनिज ताइपेई, इस्ट टिमोर, नेपाल, मकाउ, पाकिस्तान, मंगोलिया, ब्रुनाई र भुटान रहेका छन् । सहभागी टोलीले होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रारम्भिक छनोटमा परेका ६ राष्ट्रले शीर्ष वरीयतामा रहेका ३४ राष्ट्रसँग दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । अन्तिम राउन्डको समूह विजेता र उत्कृष्ट उपविजेता गरी कुल १२ टोलीले सन् २०१९ को एसियन कप खेल्न पाउनेछन् ।

Comments

comments