२१ औं सताब्दीको आधुनिक शिक्षा अध्ययन गर्ने हाम्रै घर परिवारका कतिपय बालबालिका जसले नेपाली भाषालाई समेत विद्यालय परिसर भित्र दोश्रो भाषाकै रुपमा प्रयोग गर्छन् | क्रियटिभ एकेडेमी किर्तिपुरका केहि कलिला भाइबहिनीहरु भने म नेपाली नै हुँ भन्नेहरुलाई समेत चुनौती दिने गरि डोटेली लवजको नेपाली भाषामा तयार पारिएको सुदूरपश्चिमको एउटा सामाजिक अन्धविश्वासलाई अन्त्य गर्नु पर्छ भन्ने भाव बोकेको नाटक “झुमा” लाई आफ्ना शिक्षक शिक्षिका र अभिभावक माझ बिद्यालयमा प्रस्तुत गर्दै थिए | रंगमन्चमा एउटा यस्तो मोड आयो.. नाटककि मुख्य पात्र “झुमा” एक गरिब परिवारकी एक्ली छोरी, दाजुको महारोग निको हुन्छ र परिवारले सुख पाउँछ  भन्ने  गाउँको जान्ने बुझ्ने , देवीदेवताको इच्छा बक्ने  झाँक्रीको आदेशमा अन्धविश्वासको फेला पर्दा सदाका लागि देउकीको रुपमा एक मन्दिरमा बस्नु पर्ने अवस्था आयो |समय संगै अनेकौ पिडा सहँदै उनको कयौं दिन मन्दिर मै  बित्यो |उनि  घर परिवार सम्झिएर अश्रुमिश्रित वेदना ब्यक्त गर्दै बस्थिन् | यता  एकाग्र बनेको दर्शकदीर्घाका अभिभावकहरुका आँखा सँग सँगै रसाएका थिए  | कतिले त आँशु थाम्नै सकेनन्, बग्नै आँटे पछि आफुले ओढेको सल र पछेउरीले पुछ्नु नै पर्ने भयो | उता मन्चमा भने बहिनीको पिडा धेरै पछि मात्र थाहा पाएको दाजुले  समाजको यो चलनलाई तोड्न अघि सर्ने प्रण गर्दै देउकी बनेकी बहिनी “झुमा”लाई मन्दिरबाट घर फर्कायो | रङ्ग मंचको पर्दा लाग्यो | निर्देशक प्रेम पौडेलले नाटक सकिएको बताए | दर्शकदीर्घा तर्फको बत्ति बल्यो | दर्शकहरुमा एकले अर्कालाई औंल्याएर “ए तपाई पनि पो रुनु भो !” भन्ने सम्मको अवस्था आयो | बिस्तारै सबैको मुहारमा खुसि फैलियो | खुशी छाउनुको एकै कारण थियो नाटक “झुमा” नेपाली नाटकको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरको नाट्य महोत्सव “ग्लोवल थिएटर फेस्टीवल”मा सहभागी हुन भारतको उडिसा तर्फ जाने अन्तिम तयारी पुरा | उडिसाको कटकमा २ हप्ता सम्म चल्ने नाटक महोत्सवमा आगामी माघ १२ गते “झुमा” मन्चन हुनेछ |

DSCF6534

देउकी प्रथा नेपालमा प्रचलित सामाजिक कुप्रथाहरुमध्ये देउकी प्रथा पनि एक हो। नेपालको सूदुरपश्चिमाञ्चलको सेती र महाकाली अञ्चलमा मन्दिरहरूमा देबी देवताको सेवा गर्न कन्या केटी चढाउने प्रचलन छ। यसरी चढाईएकी कन्या देउकी हुन भने चढाउने प्रचलन प्रथा हो। महारोग लागेमा, छोरा नभएमा, मुद्दा जित्नु परेमा वा आफ्नो मनोकाङ्क्षा पूरा गर्नुपरेमा, कुनै भाकल पुरा गर्न आफ्नै छोरी वा गरीव परिवारकी अबोध बालिका किनेर देबी देबताको मन्दिरमा चढाउने गरिन्छ।यसरि चढाइएका कन्याहरुको बिवाह गर्न नहुने तर ति कन्याहरु सँग शारीरिक सम्पर्क गर्न हुने अन्धविश्वास रहेको पाइन्छ । बैतडी जिल्लाको मेलौली देवीको मन्दिर यो प्रथाको केन्द्रविन्दु हो। मन्दिरमा चढाएको सामाग्रीहरुबाट मात्र जिविकोपार्जन गर्नु पर्ने भएकोले देउकीहरू देहब्यापार गर्न बाध्य छन्। आजको विकसित समाजमा यो प्रथा निकै ठुलो विकृतिको रुपमा छ। यो प्रथा बालअधिकार विपरित कार्य हो। शिक्षाको विकास र चेतनामा भएको वृद्धिका कारण यो प्रथामा केही कमी आएपनि पुरै निर्मुल हुन अझै पनि सकेको छैन ।

DSCF6569

यसै यथार्थमा आधारित रहेर निर्देशक प्रेम पौडेलको लेखन तथा निर्देशनमा तयार पारिएको नाटक “झुमा”मा प्रयूला पौडेल, शुसान्त अधिकारी, एलिसा पौडेल,अभिशेख बुढाथोकी, अपेक्षा पौडेल, सन्तोष पोख्रेल, सोनीया केसी, सन्दिप भण्डारी लगायतका बालकलाकारहरुको अभिनय रहेको छ ।चन्द्र देव भट्ट को भाषिक रुपान्तरण,सुमित्रा गिरी को भेषभूषा,अनिल काफ्लेको संगित संयोजन तथा राजमान महर्जनको सेट निर्माण रहेको यस नाटकको संयोजन गरेका छन् शिव प्रसाद गिरी ले ।

क्रियटिभ एकेडेमी कीर्तिपुरले लोक दृष्टि थिएटरको सहकार्यमा तयार पारेको नाटक झुमा सोमबार क्रियटिभ नाटकघर कीर्तिपुरमा पहिलो पटक मञ्चन गरिएको हो ।

Comments

comments