10841350_10202979008705409_200222845_nडा. प्रदीप भट्टराई

अहिले विश्वभर शार्लीहरु फालिम लागेको बेला दक्षिण एसियाको कुनामा रहेको यो शार्ली विलोममा एउटा प्रश्न उठाउँछ, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा हामी कसैको आस्था, विश्वास र भावनामाथि प्रश्न थोपरेर आफैंमाथि संकट पो निम्त्याइरहेका पो छौ कि ? ४० को दशकमा लिवर्टेरियल प्रेसले गरेका गम्भीर भूलहरुको समीक्षा गर्दै सोसल रेस्पोन्सिविलिटी सिद्धान्त प्रतिपादन गर्नुपरेको परिस्थितिजस्तै मोडमा त उभिएका छैनौ हामी ? विश्वभरका शाली हरुले यसलाई पनि हेक्कामा राख्दा राम्रै होला ।

आज विश्वको हरेक कुनामा छातिमा शार्ली टाँसेका शार्ली हेब्दोहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा फालिम लागेर उभिएका छन् । मानव सभ्यतालाई नै लज्जित पार्ने शार्ली हेब्दो नरसंहारप्रति रोष प्रकट गर्दै उनीहरुको अन्तरआत्माले भनिरहेको छ, कुपया, हामीलाई आवाजविहीनहरुको आवाज बन्न देऊ । हामी हाम्रा लागि हैन, समाजका लागि बोलिरहेका छौं, लेखिरहेका छौं । मिडियाप्रतिको यो असहिष्णुताले मानव सभ्यतालाई नै कलंिकत बनाएको छ । यदि यसरी नै मिडियाको मुखमा बुजो लगाउन दुष्प्रयास गर्दै जाने हो भने समाजमा राज्यको चौथो अंगको उपस्थिति नै हुने छैन । यसले गर्दा न समाजको पहरेदार बच्छ न समाजको सोसल अडिट हुन्छ । हातमा मैन जलाउँदै उनीहरुले बन्दुकेहरुलाई प्रश्न पनि गर्न भ्याए, हे आततायी हो, तिमीहरुले चाहेको यस्तै समाज हो ?
मिडिया डेमोक्रेटाइजेसन र ग्लोबलाइजेसन भएको यो युगमा नेपालका आमसञ्चारकर्मीहरु पनि शार्ली फालिममा उभिए । अधिकांशले जीवनमा पहिलो पटक यो म्यागजिनको नाम सुने पनि त्यसमा उनीहरुको केही लिनुदिनु रहेन । उनीहरुले बुझेको त एउटै कुरा थियो, मिडियामा लेखे, बोले वा देखाएकै भरमा कसैको पनि बाँच्ने अधिकार छिन्न पाइन्न । नेपाल पत्रकार महासंघको ब्यानरमा संस्थागत रुपमै उनीहरु शार्ली फालिममा उभिए । यसबाट एउटा सन्देश पनि दिनु थियो, नेपालमा पनि शार्लीहरुको कमी छैन । दक्षिण एसियाको कुनामा रहेको यो मुलुक पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लामवद्ध छ ।
नेपाली पत्रकारिताको इतिहास पल्टाएर हेर्ने हो भने नेपालमा पनि बन्दुकेहरुको कमी रहेका छैन । सरकारी बन्दुके, क्रान्तिकारी बन्दुके, आततायी बन्दुके …. थरिथरिका बन्दुकेहरुको सामना गर्दै आएका छन् नेपाली आमसञ्चारकर्मीहरुले । फरक यति हो, आतंकको कलेबरमा सिंगो संस्थामाथि नै चाँहि ट्गिर दबाउने काम भएको छैन ।
जहाँ होस्, जुन रुपमा होस्, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा हुने सबै खाले आतंकको भत्सर्ना गर्नुपर्छ । र, एउटा प्रतिवद्ध सञ्चारकर्मीले फालिम लागे पनि नलागे पनि त्यसको भत्सर्ना गर्छ नै । विगत २५ वर्षदेखि अक्षरको फालिम लगाइरहेको यो स्तम्भकार पनि शार्ली फालिममा उपस्थित छ र सगौरव भनिरहेको छ, म पनि शार्ली हुँ । पञ्चायतको विरुद्धमा र त्यसपछि पनि आएका निरंकुश शासनहरुको विरुद्धमा हामी पनि शार्ली हुन तयार भएकै हो । अहिले नयाँ कलेवरमा आएका नेपाली शार्लीहरुलाई त्यो थाहा नहुन सक्छ । तर, सत्य के हो भने अहिले चलेको कर्पोरेट पत्रकारिताभन्दा अघि यो मुलुकमा मिशन पत्रकारिता थियो । जतिबेला अग्रजहरु बोल्ने र लेख्ने अधिकार सुनिश्चित हुने व्यवस्था ल्याउनका लागि मात्र पनि टाउकोमा कफन बाँधेर पत्रकारिता गर्थे । २०४६ मा होस् या २०६३ मा, नेपाली आमसञ्चारकर्मी नै शार्ली बन्ने जोखिम उठाउँदैं आन्दोलनको अग्रिम मोर्चामा डटेका थिए ।
चार्ली बन्ने कुरा आफ्नो ठाउँमा छ र यो सँग कुनै पनि प्रकारको सम्झौता हुन सक्दैन पनि । तर, यस सँगसँगै ४० को दशकमा लिवर्टरियन प्रेसले स्वतन्त्रताको नाममा गरेका केही भूलहरुको समीक्षा गरेर सोसल रेस्पोन्सिविलटी सिद्धान्तमा फड्को मार्नुपर्ने परिस्थिति सिर्जना भएको सन्दर्भलाई समेत हेक्का राख्नुपर्ने परिस्थिति सिर्जना भएको छ । त्यो के भने ४० को दशकमा अमेरिकी पत्रकारिता स्वतन्त्रताको नाममा अराजक भएको थियो । पैसा हुनेले जे र जस्तो पत्रकारिता गरे पनि हुन्थ्यो । कसैको आस्था र भावनाको मतलव पनि थिएन । स्वतन्त्र पत्रकारिताका नाममा भएको दादागिरीबाट त्राहिमाम थियो समाज । पत्रकारिताको गरीमा र विश्वसनियतामाथि नै गम्भीर प्रश्नचिन्ह लागेको थियो । त्यही बेला केही अमेरिकी पत्रकारहरुले नै पत्रकारिताका नाममा हुने यो दादागिरकिो अन्त्यका लागि एउटा आयोग बनाए । त्यही आयोगले पत्रकारिता समाजप्रति उत्तरदायी हुनुपर्ने निष्कर्षसहित सोसल रेस्पोन्सिविलिटी सिद्धान्तको सूत्रपात भयो । त्यसपछि जुनसुकै कलेबरमा आएको पत्रकारिताले पनि सामाजिक उत्तरादायित्व वहन गर्नुपर्ने हो । व्यक्तिकोे आस्था र विश्वासलाई सम्मान गर्दै सामाजिक सद्भाव कायमगर्ने दिशामा पत्रकारिता गर्नुपर्ने भयो । त्यसपछि यही मान्यताका आधारमा अगि बढ्दै जाँदा पत्रकारिताले आजको आमसञ्चारको स्वरुप लिएको हो ।
अव यो कोणबाट शार्ली हेब्दोका कार्टूनहरुलाई हेरौं । त्यसमा पनि इस्लामधर्ममाथि प्रहार गरिएका कार्टूनहरुलाई हेरौं । अझ, शार्ली हेब्दोलाई सारिया हेब्दो बनाएर इस्लाम धर्ममाथि व्यंग्यवाण हानिएको संस्करणलाई हेरौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका नाममा एक इसाई सम्पादकबाट सम्पादित कार्टुनमा त्यस्तो विषयवस्तु के उचित हो त ? यसबाट कुनै धर्म या सम्प्रदायको आस्था, विश्वास र भावनामाथि चोट नपुग्ला त ? निश्चित पनि पुग्छ । त्यसमा पनि अलि पुरातनवादी मानिने मुस्लिम सम्प्रदायको भावनामा त चोट पुग्ने नै भयो । शायद, त्यही भावनामाथि खेल्ने तत्वले मौका पायो र ऊ अत्यन्त आततायी कलेबरमा शार्ली हेब्दोमाथि जाइ लाग्यो । यसको अर्थ शार्ली हेब्दोमाथि गरिएको आक्रमण सही हो भनिएको कदापि पनि हैन । तर, यो सँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको आस्था, विश्वास र भावनामा चोट पुर्याउने अधिकार शायद कसैसँग हुदैन पनि होला । शार्ली हेव्दो पनि यस मानेमा अछुतो हुन सक्दैन ।
बंगलादेशको राजधानी ढाकाबाट निस्कने एक उर्दु दैनिकमा काम गर्ने मेरी एक विद्यार्थी छिन् । यस सन्दर्भमा उनको भनाइ सम्झनलायक छ । ढाकामा भेट हुँदा उनले भनेकी थिइन्, हामी मुस्लिम महिला यसै पनि खराब स्थितिमा छौं । त्यसमाथि पनि अन्य धर्मकाले हामीमाथि भेदभाव छ भनेर लेखिदिदा मुस्लिम पुरुषहरु आफ्नो छवि खराव भएको ठान्छन् र हामीमाथि नै हिंसा थप्छन् । यसबाट हामी दाहोरो मारमा पर्छौ । मेरो विचारमा हामी मुस्लिमहरुले नै यसका लागि प्रयास गर्नुपर्छ । र, पहिलाको तुलनामा धेरै परिवर्तन पनि आएको छ । बिस्तारै सबै ठीक हुन्छ । तर, जब बाहिरियाले यो भएन, त्यो भएन भनेर एजेन्डा सेट गर्न खोज्छन्, त्यसको उल्टो असर पर्छ ।
शार्ली हेब्दो आक्रमणपछि उनीसँग ट्विटरमा कुरा भयो । उनले फेरि पनि त्यही कुरा दोहोर्याइन्, मुस्लिमको समस्या मुस्लिमले नै समाधान गर्ने हो । र, यो ढिलो चाँडो हुन्छ पनि । बाहिरिया हस्तक्षेपले यसलाई अरु जटिल बनाइदिन्छ । उनले थपिन्, म पनि चार्ली हेब्दो हुँ । तर, के गर्ने मुस्लिम समाजमा यसले अरु थप हिंसकहरु जन्माउँछ ।
म मेरी विद्यार्थीको कुराम गम्भीर तर्क भेट्छु । हुन पनि हो, कुनै समाज या सम्प्रदायलाई सच्याउने काम अर्कोले हैन, त्यही भित्रबाट हुनुपर्छ । अनि, मात्र त्यो दीगो र विवादमुक्त हुन्छ । जस्तो कि, मुस्लिमलाई सच्याउने काम मुस्लिमले नै गर्यो भने त्यो कम जोखिमको हुनछ । अर्को धर्म या सम्प्रदायकाले भन्यो भने त्यो थोपरिएको हून्छ । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सत्तीसालझै उभिदा उभिदै पनि शार्ली हेब्दो प्रकरणमा आइपुग्दा यसतर्फ सोच्नुपर्ने हो कि ? जस्तो चााहि लाग्छ । जस्तो कि, द्रौपदी पाँच पाण्डवकी श्रीमती हुन् । यो एक किसिमको बहुपति प्रथा हो र कसैका लागि वेश्यावृत्ति पनि लाग्न सक्छ । अब यही कुरा एउटा हिन्दूले लेख्यो भने अरु हिन्दूलाई ए हो पो त जस्तो लाग्छ । तर, गैरहिन्दूले लेख्यो भने जतिसुकै तर्क गरे पनि त्यो आन्तरिक मामिलामा हस्तक्षेप जस्तो लाग्छ । वसुधैव कुटूम्बकम्मा विश्वास गर्ने हिन्दूलाई त यस्तो लाग्छ भने अरु धर्मकालाई यस्तो लाग्दैन भनेर कसरी सुनिश्चित गर्न सकिन्छ र ?
भनिहालें, यो स्तम्भकार सत् प्रतिसत शार्ली हो । तर, यसो भनेर हामी पत्रकारहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका नाममा कसैको भावनामा, आस्थामा चोट पुर्याएर अलि बढी नै त गरिरहेका छैनौं, यतातिर पनि सोच्ने कि ? यदि हामी यही बाटोमा लागि रह्यौ भने शार्ली हेब्दोले कल्पना गरेजस्तो न सुन्दर संसार हुन्छ, न शार्ली बन्ने र बनाइने क्रमकै अन्त्य हुन्छ । सुन्दा अप्रिय लाग्ला, तर यो सत्यभन्दा धेरै टाढा छैन । अर्थात्, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका नाममा कसैको आस्था, विश्वास र भावनामा चोट पुग्ने कुरा गरेर पाखुरा सुर्किने तरिकामा परिवर्तन पो गर्नुपर्ने हो कि ? प्रश्न विलोममा छ, तर ढिलो चाँडो सम्वोधन गर्नैपर्छ । आगे उनीहरु नै जानुन् ।

Comments

comments